Logo

२२ माघ, चतवन । चितवन क्षेत्र नम्बर २ बाट आफूलाई विजयी गराउन मागसहित नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन्।

मंसिर ४ को निर्वाचनमा फराकिलो मतान्तरसहित विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सांसद पद गुमाएपछि निकटतम् प्रतिद्वन्द्वी श्रेष्ठले आफूलाई स्वतः निर्वाचित घोषित गर्न मागसहित आइतवार निवेदन दिएका छन्। चितवन २ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा गत माघ १३ गतेको सर्वोच्च अदालतको फैसलापछि सांसद पद गुमाइसकेका छन्।

लामिछानेले खारेज भएको नागरिकता प्रयोग गर्दै सांसदमा उम्मेदवारी दिएपछि सांसद पद गुमाएका थिए। तर यता दोस्रो नम्बरमा रहेका श्रेष्ठले निर्वाचनताका नै आफूले निर्वाचन अधिकृतको कार्यालयमाा दिएको निवेदनको पनि बेवास्ता गरेको दाबी गरेका छन्। त्यहीकारण आफूलाई अन्यायमा पार्ने काम भएको जिकिर उनको छ।

श्रेष्ठले मंसिर ४ को निर्वाचनकै समयमा लामिछानेको नागरिकता विवादमा ५ वटा उजुरी परे पनि आयोगले त्यसमा कारवाही नगरेको बताएका छन्। चितवनमा ३ र काठमाडौंमा २ वटा उजुरी पर्दा पनि आयोग मौन बसेको उनको गुनासो छ। श्रेष्ठले रविको सांसद पद खारेज भएपछि आफूलाई स्वतः संसदमा पठाउन माग गरे पनि कानुनमा त्यो व्यवस्था नै नरहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका एकजना उपसचिव सूर्यप्रसाद सिलवालले श्रेष्ठले कानुन आकर्षित नै नहुने दाबीसहित उजुरी दिएको बताएका छन्।’यसबारेमा विभिन्न चरण र अवसरका कुरा छन्।

उहाँले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयनपत्रको दाबी विरोध गर्ने चरणमै उजुरी दिने अवसर थियो। त्यसपछि निर्वाचन परिणाम नआउन्जेलसम्मको चरण पनि थियो’, उनले भने, ’त्यस्तै निर्वाचन परिणाम आइसकेपछि योग्यताको निरुपणको विकल्प पनि थियो। तर अब त्यसबारेको निर्णय संवैधानिक इजलासले गरेको छ।

’उनले यो विषय संवैधानिक इजलासमा उठिसकेकाले अब चितवन २ मा उपनिर्वाचन हुने बताए। ’चितवन २ को हकमा उपनिर्वाचनबाहेक अरु कुरा कानुनमा केही पनि लेखिएको छैन। पद रिक्त रहेकाले पदपूर्ति नै हुन्छ।

त्यो भनेको उपनिर्वाचन हो’, उनले भने, ’६ महिनाभन्दा धेरै अवधि बाँकी रहँदा पद रिक्त भएको अवस्थाम उपनिर्वाचनबाट अब त्यसको पूर्ति हुन्छ। दोस्रो नम्बरकालाई स्वतः विजयी गराउने कुरा कानुनमा छैन।’


सम्बन्धित समाचार