३ जेठ, रौतहट । रौतहटको कटहरिया नगरपालिका–५ मा एक नवविवाहिता महिलाको रहस्यमय मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ । मृतकका परिवारले हत्या गरिएको आशंका गरेका छन् भने प्रहरीले आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी दर्ता गरी अनुसन्धान अघि बढाएको छ ।
गत आइतवार दिउँसो २१ वर्षीया सानिया प्रविन आफ्नो घरको कोठामा सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। ससुराली पक्षले घटनालाई आत्महत्या भनेपनि मृतकका माइती पक्षले यो योजनाबद्ध हत्या भएको दाबी गरेका छन् ।
मृतकका पिता महमद मोलाजीम रौशनले छोरी सानियामाथि निरन्तर दाइजोको माग, कुटपिट र मानसिक यातना दिइएको आरोप लगाउँदै छोरीको मृत्युको लागि श्रीमान दोषी रहेको बताएका छन्। उनका अनुसार, बिहे भएको छोटो समयमै सानियाले हिंसाको सामना गर्नुपरेको थियो ।
“छोरीलाई पटक–पटक दाइजोका लागि दबाब दिइन्थ्यो, शारीरिक र मानसिक यातना दिने गरिएको थियो,” रौशनले भने, “यही कारणले उनको ज्यान गएको हो ।”
उक्त घटनापछि मृतकका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी प्रहरीमा दर्ता गरिएको र हाल अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपीले जनाएका छन् । शवलाई पोस्टमार्टमका लागि गौर अस्पताल राखिएको र रिपोर्टपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।
घटना पछिको परिस्थितिलाई लिएर स्थानीय समाजमा पनि चासो बढेको छ। मृतक परिवारले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

















