Logo

४ जेठ, वीरगञ्ज ।  लमजुङमा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलको पाँचौँ जिल्ला अधिवेशनमा शनिबार एक हिंसात्मक घटना भएको छ ।

बेसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित उद्घाटन सत्रमा दुई समूहबीच भएको झडपमा खुकुरी प्रहार समेत भएको छ, जसका कारण चार जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार घाइते हुनेहरूमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्ष तथा तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहेका छन्।

घाइतेमध्ये वडाध्यक्ष गुरुङ र विद्यार्थी नेता अधिकारीलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अधिवेशनमा प्रतिनिधि चयनको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । पूर्णकालीन सदस्यता र प्रतिनिधि छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै दुई समूहबीच भएको झगडाले उग्र रूप लिँदा खुकुरी हानाहानको स्थिति सिर्जना भएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


सम्बन्धित समाचार