Logo

४ जेठ, काठमाडौं । प्रमुख राष्ट्रिय सडकमार्ग अन्तर्गत पर्ने मुग्लिङदेखि नागढुंगासम्मको ९५ किलोमिटर लामो सडक विस्तार परियोजना को प्रगती सन्तोष जनक नहुदाँ यात्रुले सास्ती भोग्नु परेको छ ।

यो सडक तीन खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। तर, तीनै खण्डमा कामको प्रगतिमा ठूलो भिन्नता देखिएको छ। एकातिर नागढुंगा–नौबिसे खण्डमा अपेक्षाकृत उल्लेखनीय प्रगति भएको देखिन्छ भने, नौबिसे–मलेखु र मलेखु–मुग्लिन खण्डमा भने कार्यप्रगति सुस्त देखिएको छ।

यस सडक खण्डबाट दैनिक करिब २० हजार सवारी आवतजावत गर्छन् । तर यसको दर्दनाक अवस्था छ । वर्षौँदेखि यात्रुले धुलो र हिलोका कारण निकै सास्ती भोग्दै आएका छन् ।

सडकखण्ड वरपरका स्थानीयबासी धुलो र हिलोका कारण वाक्कदिक्क मात्र छैनन्, स्वास्थ्यसम्बन्धी गम्भीर समस्यामा नै पर्न थालिसकेको गुनासो गरिरहेका छन् ।
राजमार्ग आसपासका व्यापार व्यवसाय ठप्प नै हुन लागिसकेका छन् । दुर्घटनाको जोखिम उस्तै छ । तर सडक खण्डको निर्माणमा सरकारको तदारुकता भने खासै देखिएको छैन ।

पहिलो खण्ड नागढुंगा–नौबिसे १२.२६ किमीमा ६२ प्रतिशत काम सम्पन्न भइसकेको सडक विभागले जनाएको छ । जुन तीनवटै खण्डमध्ये सबैभन्दा बढी हो। चीनको जियाङसु र नेपालको सगुन निर्माण कम्पनीको संयुक्तले निर्माणको जिम्मा लिएको छ। २०७८ चैत २९ गते ठेक्का सम्झौता भएको यो खण्डमा २०७९ जेठ १२ देखि निर्माण सुरु गरिएको हो। कुल लागत १ अर्ब ३१ करोड रुपैयाँ छ।

हालसम्म ५.५ किमी सडक कालोपत्रे भइसकेको छ भने २ वटा पुल निर्माणाधीन अवस्थामा छन्। टेवा पर्खालको ८० प्रतिशत काम सम्पन्न भइसकेको र विद्युत पोल सार्ने कार्य सुरु गरिएको सडक निर्माण कम्पनीले जनाइएको छ।

दोस्रो खण्ड नौबिसे–मलेखु ४३.५४ किमीमा भने प्रगति सुस्त छ। शर्मा, लामा र चिनियाँ कम्पनी जेडआईसीजीको संयुक्त जेभीले निर्माणको जिम्मा लिएको यो खण्डमा हालसम्म २६ प्रतिशत काम मात्र सम्पन्न भएको छ। २०७९ जेठ १४ मा सम्झौता भई ३ वर्षको निर्माण अवधि तोकिएको छ। कुल लागत ५ अर्ब ३३ करोड रुपैयाँ रहेको यो खण्डमा हाल भित्तो कटान, टेवा पर्खाल, नाली र कल्भर्ट निर्माण भइरहेको छ।

१३ वटा पुलमध्ये ७ वटामा मात्रै निर्माण सुरु भएको छ। कालोपत्रे कार्य सुरु हुन बाँकी छ भने अहिले ग्राभेलिङ र बेस लेयरको काम भइरहेको छ। रुख कटान, विद्युत पोल स्थानान्तरण, र निर्माण सामग्रीको अभाव यस खण्डमा मुख्य अवरोधका रूपमा देखिएको सडक विभागले जनाएको छ।

तेस्रो खण्ड अन्तरगत मलेखु–मुग्लिन सडक खण्डको ३८.८६ किमीमा पनि २६ प्रतिशत मात्र प्रगति भएको छ । निर्माण कम्पनी शर्मा– जेडआईसीजी जेभी नै हो। २०७९ पुस १५ मा सम्झौता भई तीन वर्षे अवधिमा सम्पन्न गर्ने लक्ष्य रहेको यो खण्डको लागत ४ अर्ब ८० करोड रुपैयाँ छ। अहिले ४.५ किमी सडक कालोपत्रे भइसकेको छ भने २ वटा पुल निर्माणाधीन छन्। भित्तो कटान, टेवा पर्खाल, र नाली निर्माण भइरहे पनि रुख कटान, मुआब्जा वितरण र पहिरोको जोखिमका कारण काममा ढिलाइ भइरहेको छ।

मुग्लिन–नागढुंगा सडक विस्तार परियोजना हाल तीन खण्डमध्ये पहिलोमा उल्लेखनीय प्रगति भए पनि बाँकी दुई खण्डमा कार्य धीमी गतिमा छ। समग्र रूपमा हेर्दा दोस्रो र तेस्रो खण्डमा समान रूपमा २६ प्रतिशत मात्र काम सम्पन्न भएको छ, जसले परियोजनाको समयसीमाभित्र सम्पन्न हुने सम्भावनामा प्रश्न उठाएको छ।

मुख्य अवरोधहरूमा रुख कटान, मुआब्जा वितरणमा ढिलाइ, विद्युत पोल स्थानान्तरणमा जटिलता, तथा निर्माण सामग्रीको अभाव देखिन्छ। सम्बन्धित सरकारी निकायहरू र निर्माण कम्पनीहरूबीच समन्वय अभावको संकेत मिल्दछ, जसलाई तत्काल सम्बोधन नगरेमा परियोजना थप ढिलो हुने जोखिम बढेको छ।

यस परियोजनाले राजधानी काठमाडौंलाई तराई र पूर्व–पश्चिम महत्त्वपूर्ण भौगोलिक क्षेत्रसँग जोड्ने मुख्य राजमार्ग सुधार्ने लक्ष्य राखेको छ। तर हालको प्रगतिले सरकारी प्रतिबद्धता र कार्यान्वयन क्षमताबारे प्रश्न उठाइरहेको छ।

बर्षात सुरु हुनै लाग्दा, यस सडक खण्ड भएर यात्रा गर्ने यात्रुहरूका लागि जोखिम बढ्दै गएको छ। विशेष गरी नौबिसे–मलेखु र मलेखु–मुग्लिन खण्डमा भौगोलिक कठिनाइ, अधूरो निर्माण र नियमित पहिरोका कारण यात्रुहरूले दैनिक सास्ती खेप्नु परिरहेको छ।

सडकका विभिन्न ठाउँमा पहिरो खस्ने क्रम जारी छ भने निर्माणाधीन भागहरूमा बाटो एकतर्फी मात्र सञ्चालन हुँदै आएको छ। यसले गर्दा यात्रुहरूलाई घण्टौं लामो जाममा पर्नुपर्ने अवस्था छ। स्थानीय र सवारी चालकहरूका अनुसार साना सवारी साधन तंग्रिने, एम्बुलेन्स र आपतकालीन सवारीलाई समेत अवरोध हुने अवस्था देखिएको छ।


सम्बन्धित समाचार