प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

५ जेठ,वीरगञ्ज । वीरगञ्ज–रक्सौल सीमा हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्दा एक दक्षिण कोरियाली नागरिक भारतको रक्सौलमा पक्राउ परेका छन्। दक्षिण कोरियाका नागरिक किम याङ डेलाई रक्सौलस्थित माईस्थान मौजेको होटेल धर्ममुक्तिबाट भारतको अध्यागमन विभाग र रक्सौल प्रहरीको संयुक्त टोलीले छापा मारेर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार किम भारतमा रोजगारी भिसामा प्रवेश गरेका थिए, तर उनको भिसाको अवधि सन् २०२१ को जनवरीमै सकिएको थियो। त्यसपछि उनी बिना कागजात भारतमै बस्दै आएका थिए। पछिल्लो समयमा उनी नेपाल प्रवेश गर्ने योजनासहित मे १७ मा रक्सौल आइपुगेका थिए, तर सीमामा कडा सुरक्षाका कारण उनी होटेलमा बसिरहेका थिए।

प्रहरीले उनको साथबाट भारतीय आधार कार्ड पनि बरामद गरेको छ। उनले उक्त आधार कार्ड कसरी प्राप्त गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार किम विगतमा तमिलनाडुको काञ्चीपुरमस्थित के एण्ड के कन्टेक इञ्जिनियरिङ्ग प्रालिमा प्रोजेक्ट म्यानेजरको रूपमा कार्यरत थिए।

किम मे १७ मा राजधानी एक्सप्रेसबाट लामडिङ्गदेखि बरौनी हुँदै रक्सौल आएका थिए र त्यहाँबाट नेपाल छिर्ने तयारीमा थिए। तर, प्रहरीले सुराकीका आधारमा गरेको छापामारीमा उनी पक्राउ परे। हाल विभिन्न सुरक्षा निकायहरूले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेका छन्। उनीमाथि भिसा उल्लङ्घन, अवैध बसोबास र नक्कली कागजात प्रयोग गरेको हुनसक्ने विषयमा गहन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार