प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१३ जेठ,काठमाडौं ।  सरकारले १० जना विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरुवा भएका सचिवहरूको विवरण सार्वजनिक गरेका छन्। सरुवाअनुसार, राष्ट्रपतिको कार्यालयका सचिव डा. रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिवका रूपमा सरुवा गरिएको छ।

यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोक सेवा आयोगमा सरुवा गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या तथा प्रशासन सचिव हरिप्रसाद मैनाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेका छन्।

लोक सेवा आयोगका सचिव डिल्लीराम शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव डा. दीपक काफ्लेलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुडामणी पौडेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ।

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन्। बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा कार्यरत माहादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा कार्यरत रघुराम विष्ट महालेखा नियन्त्रकका रूपमा महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएका छन्। अतिरिक्त समूहका सचिव शोभाकान्त पौडेललाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा प्रमुख सचिवका रूपमा जिम्मेवारी दिइएको मन्त्री गुरुङले जानकारी दिए।


सम्बन्धित समाचार