प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधबार महानगरपालिकाका विभिन्न वडाहरूमा निर्माणाधीन र सम्पन्न भएका कालोपत्रे (पिच) सडकहरूको निरीक्षण गरेका छन्।

आज बिहान उदयपुरघुर्मीको वडा नम्बर २७ मा निर्माणाधीन सडकको निरीक्षण गर्दै मेयर सिंहले निर्माण कार्यको गुणस्तरमा विशेष ध्यान दिन र समयमै काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उदयपुरघुर्मीमा अहिले कालोपत्रे प्रक्रिया अघि बढाउन अतिक्रमण हटाउने कार्य र सडकको बेस निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

त्यसैगरी, मेयर सिंहले वडा नम्बर २१ परवानीपुरमा निर्माणाधीन सडकको पनि बुधबार नै निरीक्षण गरेका छन्। वडा नम्बर २१ को मुख्य सडकबाट पटेल नगरतर्फ जाने सडक निर्माणमा भएको अवरोध हटाएर अहिले काम धमाधम भइरहेको छ। यस्तै, उनले वडा नम्बर १४ स्थित सानो पिपरा बौद्धिमाईमा सम्पन्न भएको कालोपत्रे सडकको पनि निरीक्षण गरे।

सडक निरीक्षणको क्रममा मेयर सिंहसँगै महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नम्बर २७ का वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मी, स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो। स्थानीय बासिन्दाहरूले सडक निर्माणले आवागमन सहज हुनुका साथै आर्थिक र सामाजिक विकासमा समेत टेवा पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

वीरगञ्ज महानगरपालिकाले विभिन्न वडाहरूमा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, ढल र खानेपानी जस्ता परियोजनाहरूमा तीव्रता दिएको छ। महानगरको ग्रामीण क्षेत्रलाई बजारसँग जोड्न अहिले हरेक वडामा कालोपत्रे सडक निर्माणको काम तीव्र रुपमा भइरहेको छ।


सम्बन्धित समाचार