Logo

३० जेठ,जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सभा सदस्य सरोज सिंह कुशवाहा भ्रष्टाचार आरोपमा पक्राउ परेपछि निलम्बनमा परेका छन्। प्रदेश सभाले शुक्रबार उनको निलम्बनको निर्णय लिएको हो।

पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहेका कुशवाहालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ गरेको थियो। आयोगले मधेश सरकारअन्तर्गतका विभिन्न योजना र बजेटको खरिद–बिक्री प्रक्रियामा गम्भीर अनियमितता गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो।

प्रदेश सभा सचिवालयका अनुसार अख्तियारको गिरफ्तारीपछि कुशवाहाको संसदीय जिम्मेवारी स्वतः निलम्बनमा परेको हो। नेपालको प्रचलित कानुनअनुसार भ्रष्टाचार आरोपमा सांसद पक्राउ परेपछि उनी स्वतः पदमुक्त हुन्छन्, जबसम्म मुद्दा निष्कर्षमा पुग्दैन।

यसअघि जेठ १२ गते अख्तियारको टोलीले कुशवाहाको घरमा छापा मारेको थियो। सो क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई पनि पक्राउ गरिएको थियो। छानबिनका क्रममा विभिन्न योजनासम्बन्धी कागजात, फाइलहरू तथा डिजिटल फरेन्सिक विश्लेषणका लागि मोबाइल र अन्य सामग्री बरामद गरिएको थियो।

अख्तियारले कुशवाहामाथि भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाएको छ। आयोगका अनुसार अनुसन्धान अझ गहिरिँदै गएको छ र अन्य सम्भावित संलग्न व्यक्तिहरूमाथि पनि छानबिन विस्तार हुने संकेत दिइएको छ।

प्रदेशमा प्रभावशाली नेता मानिने कुशवाहाको गिरफ्तारीले मधेश प्रदेश सरकार र जसपामा तरंग उत्पन्न गरेको छ। पार्टीले घटनाबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।

यो पनि पढ्नुहोस :–

मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा भ्रष्टाचार आरोपमा पक्राउ


सम्बन्धित समाचार
भर्खरै