३०,जेठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालय, गृहमन्त्री रमेश लेखक र मन्त्रालयका कर्मचारीसहित सबैको यथेष्ट प्रमाणसहित संलग्नता रहेको प्रमाणित भएको दाबी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले यस विषयमा गम्भीर प्रश्न उठाएका हुन्।
सांसद झाले कात्तिकदेखि वैशाखसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई अध्यागमनमा बदमासी भइरहेको भन्दै नौ पटक पत्र काटेको जानकारी गराए। उनले प्रश्न गरे, “नौ पटक पत्र काट्दा त्यहाँ किन ध्यान दिइएन? आज किन कागजको खोस्टामा लेखिँदैछ?“
अख्तियारले अनुसन्धान सुरु गर्ने बेला भएपछि आफ्ना कर्मचारीहरूलाई रातारात किन लुकाउन तानियो भन्दै झा ले गृहमन्त्रीको संलग्नता नरहेको भए कर्मचारी किन तानियो भनि प्रश्न गरे।
सांसद झाले मन्त्रीलाई आफ्नै मन्त्रालयबारे थाहा छैन भने मन्त्रालयको नेतृत्व कसरी गरिरहेका छन् भन्दै सरकारको कार्यशैलीप्रति प्रश्नचिह्न खडा गरे। उनले यही मुद्दा उठाउँदा आफ्नो पार्टीका सभापति रवि लामिछानेको क्षेत्रको विकास बजेट समेत रोकिएको दाबी गरेका छन्।















