१ असार, काठमाडौं । आजदेखि वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर लागू गरेका छन् ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये अधिकांशले जेठ महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् भने केहीले ब्याजदर घटाएका छन् । मुद्दती निक्षेपमा व्यक्तिगततर्फको औसत ब्याजदर ५.९ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ३७ प्रतिशत कायम गरिएको छ । यस असार महिनाका लागि १५ वाणिज्य बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यद्यपि, एनएमबी बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक र कृषि विकास बैंकले भने ब्याजदर घटाएका छन् ।
सर्वाधिक ब्याज दिने बैंकहरूः
असार महिनामा ६ वटा बैंकले सर्वाधिक ब्याज प्रदान गर्ने भएका छन् । एभरेस्ट बैंक, प्राइम बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, सानिमा बैंक र एनआईसी एसिया बैंक ले ६ प्रतिशतभन्दा माथि ब्याजदर कायम गरी सबैभन्दा बढी ब्याज दिने सूचीमा परेका छन् ।



















