२४ असार काठमाडौं । वीरगञ्जको प्रतिष्ठित होटल पुजनको जग्गा आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै केडिया समूहले चलाएको कानुनी दाउपेचले व्यवसायीवृत्तमा उनीहरूको नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
तत्कालीन पशुपति आदर्शनगर निर्माण समितिले अधिग्रहण गरी होटल पुजनलाई बिक्री गरेको जग्गालाई समेत केडिया समूहले आफ्नो भन्दै भूमाफियाको शैलीमा अर्काको सम्पत्ति हडप्ने प्रयास गरिरहेको व्यवसायीहरू बताउँछन्।
केडिया समूहका प्रदीप केडियाले बिहानको मर्निङ वाकका क्रममा आफ्ना साथीभाइलाई ु३ महिनाभित्र होटल पुजन आफ्नो स्वामित्वमा आउनेु भन्दै गफ लगाउने गरेको एक स्थानीय व्यवसायीले खुलासा गरे।
रेसखवर सँगको कुराकानीमा प्रदीप केडियाले आफ्नो योजनामा मालपोतले २१ दिने सूचना काटेको स्वीकार गरे। उनले २०२२ सालको श्रेस्तामा रुकमणीदेवी केडियाको नाममा दुईवटा कित्ता रहेको र त्यसमध्ये होटल पुजनको जग्गा पनि आफ्नो परिवारकै भएको दाबी गरे।
केडियाका अनुसार, मालपोतले सिधै केडिया परिवारको नाममा जग्गा दिन अप्ठ्यारो पर्ने भएकोले हकभोगका लागि अदालत जाने बाटो खोलिदिने सहमति भएको र सोही सहमतिअनुसार नै मालपोतबाट २१ दिने सूचना आएको हो। अदालतले आफ्नो परिवारको नाममा दुवै कित्ताभित्रको जग्गा हकभोग कायम गराइदिनेमा आफू ढुक्क रहेको केडियाको भनाइ छ।
प्रमाणले केडियाको दाबी नै खण्डन
नापी कार्यालय पर्साका अधिकृत दीपक सिंहका अनुसार, २०२९ सालमा पशुपति आदर्शनगर निर्माण समितिले अधिग्रहण गरेको जग्गाभित्र केडियाले दाबी गरेको कित्ता नम्बर १४ र १५ पर्दछ। श्रीपुर वडा नं। ९ कित्ता नं. १४ को ९ कठ्ठा जग्गाभित्र होटल पुजनका दुईवटा कित्ता देखिने सिंहले बताए।
२०२९ सालमा पशुपति आदर्शनगर निर्माण समितिले विभिन्न व्यक्तिको जग्गा अधिग्रहण गरेर नगर विस्तार गरेको थियो। कित्ता नं. १४ भित्र रहेको होटल पुजनको जग्गा नगर निर्माण उपसमितिको निर्णयले २०२९ साल असार १ गते कित्ता नम्बर ७८१ र ७८२ श्यामबहादुर श्रेष्ठको नाममा बिक्री गर्ने निर्णय गरेको थियो।
तत्कालीन नारायणी अञ्चलका अञ्चलाधीश लक्ष्मण विक्रम भण्डारीको अध्यक्षतामा २०२९ असार १ गते बसेको बैठकले ११२ कित्ता प्लट विभिन्न व्यक्तिहरूलाई बिक्री गर्ने निर्णय गरेको थियो । जसमा होटल पुजनका संस्थापक सञ्चालक श्यामबहादुर श्रेष्ठको नाममा २ वटा कित्ता बिक्री गर्ने निर्णय भएको उल्लेख छ। उक्त निर्णयमा समाजसेवीका रूपमा बृजलाल केडियाको समेत उपस्थिति रहेको देखिन्छ।
श्यामबहादुर श्रेष्ठको नाममा रहेको उक्त कित्ता नम्बर ७८१ र ७८२ लाई २०४९ सालमा भएको नयाँ नापीले कित्ता नम्बर ४७ र ४८ कायम गरेको नापी अधिकृत सिंहले बताए। श्यामबहादुर श्रेष्ठ होटल पुजनका सञ्चालक रन्जेश श्रेष्ठका बुवा हुन्। हाल होटल पुजनको नाममा कित्ता नं. ४७ र अर्को कित्ता नम्बर ४८ होटल सञ्चालक सम्झना कुमारी माथेमाको नाममा रहेको छ।
महानगरपालिकाको स्पष्टीकरण र कानुनी अड्चन
तत्कालीन पशुपति आदर्शनगर निर्माण समितिले जग्गा अधिग्रहण गरेर विभिन्न व्यक्तिलाई बिक्री गरेको नक्सा र बैठकको माइन्युटको प्रतिलिपि रेसखवर सँग सुरक्षित छ। केडिया समूहले विभिन्न व्यक्तिको जग्गामा किचलो खडा गरेपछि वीरगञ्ज महानगरपालिकाले समेत नापी र मालपोत कार्यालयलाई उक्त जग्गा पशुपति आदर्शनगर निर्माण समितिले अधिग्रहण गरी बिक्री वितरण गरेको जग्गा भएकोले केडियाको दाबी नलाग्ने जानकारी दिइसकेको छ।
वीरगञ्ज महानगरपालिकाले तत्कालीन पशुपति आदर्शनगर निर्माण समितिले अधिग्रहण गरेको जग्गाको कित्ता नम्बरसहितको समितिको निर्णय र नक्साको प्रतिलिपि समेत मालपोत र नापीलाई पठाइदिएको छ।
वीरगञ्ज महानगरका कानूनी सल्लाहकार एवं अधिवक्ता कमलमोहन पोखरेलका अनुसार, महानगरपालिकाले पठाएको सोही पत्रलाई आधार बनाएर भूमिसुधार तथा मालपोत कार्यालयले रुकमणी देवी केडियाको नाममा मोठमा कायम रहेको श्रेस्ता खारेज गर्नुपर्ने हो। केडियाको नाममा देखिएको श्रेस्ताले कुनै कानुनी आधार खडा गर्न सक्दैन, पोखरेलले भने।
उनले मालपोत कार्यालयले नियतवश १६ जना जग्गा धनीको नाममा २१ दिने सूचना काटेको देखिएको बताए। मालपोत कार्यालयमा विभिन्न व्यक्तिको हकभोगको विवरण छ, महानगरपालिकाले पठाएको पशुपति आदर्शनगर निर्माणको निर्णयलाई मुख्य आधार बनाएर केडियाको श्रेस्ता खारेज गरिनु पर्थ्यो, पोखरेलले थपे।
पीडित पक्षको भनाइ र केडिया समूहको मौनता
होटलका सञ्चालक रन्जेश श्रेष्ठले पनि जग्गाधनीलाई दुःख दिने नियतले आफ्नो सम्पत्तिमाथि धावा बोलिएको बताए। २०२९ सालमा पशुपति आदर्शनगर निर्माण समितिको निर्णयबाट किनेको जग्गालाई मेरो हो भन्नु केडिया परिवारको लागि लाजमर्दो कुरा हो, श्रेष्ठले भने।
५० वर्षपछि अर्काको सम्पत्तिमाथि दाबी गर्ने केडिया समूहका मदनलाल केडिया सम्पर्कमा आउन चाहेनन्। उनका छोरा मयंक केडियाले भने यस विषयमा आफू र बुवा मदनलाई केही थाहा नभएको बताए।
उनले बुवाको तर्फबाट समेत प्रदीप केडिया बारेस बसेको र आफूहरूलाई कुनै जानकारी नभएको जिकिर गरे। यस घटनाले वीरगञ्जमा भूमाफियाको सक्रियता र जग्गासम्बन्धी विवादले निम्त्याउन सक्ने जटिलतालाई उजागर गरेको छ।

भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख अशोक भट्टराईले तथ्य र प्रमाणका आधारमा केडियाको दावी पुग्न नसक्ने स्वीकारे । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधेको पत्रको जवाफ दिनको लागि सम्वन्धित जग्गाधनीलाई प्रमाण लिएर उपस्थित हुन २१ दिने सूचना जारी गरिएको बताए । यसमा अख्तियार र मन्त्रालयबाट समेत चासो राखेकोले कानूनी प्रकृया अगाडी बढाइएको हो, भट्टराईले भने ।
उनले पशुपति आर्दशनगर निर्माण समितिको निर्णय र नक्साको प्रतिलिपि आफूले हेर्न नपाएको बताए । फाइलमा भएको कागजातमा आर्दशनगर निर्माण समितिले गरेको निर्णयको प्रतिलिपि हेर्न त पाएको छैन, भट्टराईले भने “अन्य कागजातले केडियाको दावी पुग्ने अवस्था देखिएको छैन ।” नगर निर्माण समितिले अधिग्रहण गर्दाको निर्णय र विक्री गर्दाको निर्णय भए रुकमणी देवीको नाउँमा कायम रहेको श्रेस्ता खारेज हुने छ, उनले भने ।
केडिया समुहले दावी गरेको कित्ता नं १४ र १५ प्रमाण र तथ्यको आधारमा पशुपति आर्दशनगर निर्माण समितिले अधिग्रहण गरी विभिन्न व्यक्तिलाई विक्री गरेको देखिन्छ । तर भूमिसुधार तथा मालपोत कार्यालयको निर्णय भने भूमाफिलाई सहयोग पुग्ने खालको रहेको छ । मालपोतले भूमाफियासँग मिलेर २१ दिने सुचना काटेको दावी पीडित जग्गा धनीहरुको छ ।

















