२९ असार,सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट २१२ किलो ९२५ ग्राम भन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय राम उदगार मलाह रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्। मलाहलाई शुक्रबार राति विशेष सूचनाका आधारमा गाँजासहित नियन्त्रणमा लिइएको हो।
सूचना अधिकारी पासवानका अनुसार, मलाहलाई प्र२–०१–००३प २१५४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको थियो। प्रहरीले उनलाई पक्राउ गर्दा सातवटा पोकामा राखिएको उक्त परिमाणको गाँजा फेला पारेको थियो।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले यो सफलता हासिल गरेको हो। प्रहरीलाई देख्नेबित्तिकै घटनास्थलबाट गाडीसहित केही अन्य व्यक्तिहरू भने फरार भएका थिए। प्रहरीले फरार रहेका व्यक्तिहरूको खोजी तीव्र पारेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।















