३० असार, काठमाडौं । घुस डिलमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी समेत मौन बसेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस लेनदेनमा मन्त्री अधिकारीको नाम पोलेका हुन ।
कास्कीको मालपोत कार्यालयको प्रमुख परिवर्तन गर्न र भूमि आयोगको अध्यक्ष नियुक्तिका लागि बिचौलियाले मन्त्रीहरूसँग आधा करोडभन्दा बढीको घुस डिल गरेको अडियो सार्वजनिक भएको छ । यो प्रकरणमा अडियो सहितको उजुरी अख्तियारमा पुगेको छ ।
अडियोमा मालपोत कार्यालयको प्रमुख परिवर्तन गर्न र आफू अनुकूलको कर्मचारी नियुक्तिका लागि बिचौलियाले मन्त्रीसँग ५३ लाखदेखि ७८ लाखसम्मको घुस डिल गरेको सुनिन्छ। यो प्रकरणमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको नाम मुछिएको छ।
बिचौलियाको भूमिकामा पोखराका सुजन लामा रहेको र उनी भूमि व्यवस्था मन्त्रालयका चर्चित बिचौलिया प्रमोद खड्काका चेलाका रूपमा परिचित छन्। अडियोमा लामाले मन्त्री गुप्तालाई कास्की मालपोतको प्रमुख परिवर्तन गर्न र भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गर्न भूमि व्यवस्था मन्त्री अधिकारीलाई भन्दिन आग्रह गरेको सुनिन्छ।
यो प्रकरणमा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको आफ्नै मन्त्रालयबाट गरिने काम भन्दापनि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट हुने काम थियो । विचौलियाले सिधै भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई नभेटेर किन सामान्य प्रशासन मन्त्री कहाँ पुगे भन्ने प्रश्न मुख्य हो । स्रोतका अनुसार पूर्व मन्त्री रंजीता श्रेष्ठले गुप्ता मार्फत काम गराउन सजिलो हुने भएकोले मन्त्री गुप्ता यसमा जोडिएका हुन ।
मन्त्री गुप्तासँग डिल भएपनि पैसाको हकदार भने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी हुन । तर उनले यस प्रकरणमा कति रकम लिए वा लिएका छैनन् भन्ने बिषय सार्वजनीक हुन सकेको छैन । स्वयं मन्त्री अधिकारी समेत यसमा मौन बसेका छन् । उनीमाथि घुस लेनदेनको आरोप लाग्दा समेत अधिकारीको मौनताले गम्भिर प्रश्न उब्जाएको छ ।
उनले मन्त्रीलाई २० लाखदेखि ५३ लाखसम्मको घुसको प्रलोभन देखाएको र मन्त्री गुप्ताले जवाफमा मन्त्री अधिकारीले पहिल्यै घुस लिइसकेको दाबी गरेको अडियोमा उल्लेख छ। मन्त्री गुप्ताले भनेका छन्, “बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन” ।
जग्गा हत्याउने खेल र कर्मचारी सरुवामा चलखेल
यो प्रकरणको केन्द्रमा पोखरा महानगरपालिका वडा नंं १६ मा पर्ने बाटुले चौरमा रहेको १३५ रोपनीको लिची बगैँचा छ। राणा, शाह, भाट र थकालीहरूको नाममा रहेको यो जग्गा हत्याउन बिचौलियाले मालपोत कार्यालयको प्रमुख परिवर्तन गर्न खोजेको देखिन्छ। तत्कालीन भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ हुँदा यो समूहले उनलाई प्रयोग गरेर जग्गा हत्याउने प्रयास गरेका थिए ।
तर, रञ्जिता मन्त्रीबाट हटेपछि यो समूहले मन्त्री गुप्ता मार्फत आफ्नो स्वार्थ पूरा गर्न लागिपरेको छ। हाल कास्की मालपोत कार्यालयका प्रमुख चिरञ्जिवी पौडेललाई हटाएर आफू अनुकूलको कर्मचारी ल्याउन बिचौलियाले यो डिल गरेको हो। बिचौलियाको समूहले पौडेलको ठाउँमा रामचन्द्र अधिकारीलाई ल्याउन चाहेको थियो । तर मन्त्रालयमा रहेका कर्मचारीको विरोध पछि उक्त कार्य रोकिएको हो ।

















