Logo

३२ असार,काठमाडौं । विवादास्पद ठेकेदार मनोज भेटवाल संलग्न बैंकिङ कसुरसम्बन्धी प्रकरणमा जाहेरी दिने व्यक्ति राजकुमार बराल आफैं पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी विश्व अधिकारीले बराललाई पक्राउ गरिए पनि म्याद थप नभएपछि हाजिर जमानीमा छाडिएको बताएका छन्। यद्यपि, उनीमाथि अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ।

प्रहरीले भेटवाललाई पाँच दिनअघि काठमाडौंबाट पक्राउ गरेको थियो। पक्राउपछि स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना गरिएका उनलाई पनि हिरासतमा राख्न म्याद थप भएको थियो।

प्रहरीका अनुसार, करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको सन्दर्भमा त्यसको स्रोतबारे अनुसन्धान हुँदा भेटवालले बरालविरुद्ध मिटरब्याजमा रकम दिएको भन्दै उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले बरालको खोजी गरेको थियो।

बराल पक्राउ पर्नुअघि भेटवालका सहयोगी नरेश कुमार चेङवाङ पनि पक्राउ परेका थिए। चेङवाङ जलेश्वर बीकोई बिल्डर्स प्रालिमा कार्यरत व्यक्ति हुन्।

मनोज भेटवाल यसअघि पनि विभिन्न विवादमा मुछिएका व्यक्ति हुन्। उनलाई २०७७ फागुन २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुलामञ्चको सार्वजनिक जग्गामा ४० वटा सटर निर्माण गरी कब्जा गरेको आरोपमा पक्राउ गरेको थियो। त्यसअघि पनि उनी ठगी, बैंकिङ कसुर, हुन्डी कारोबार, विदेशी मुद्रा अपचलन र सरकारी जग्गाको दुरुपयोग लगायतका कसुरमा मुछिएका थिए। विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको मेयर हुँदा भेटवालले थुप्रै ठेक्का हात पारेका थिए।

 


सम्बन्धित समाचार
भर्खरै