२ साउन,जनकपुरधाम । सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४ पोखरियामा प्रहरीले ठूलो मात्रामा लुकाइछिपाई राखिएको लागुऔषध गाँजा बरामद गरेको छ। आज (बिहीबार) बिहान ६ बजे गुप्त सूचनाका आधारमा प्रहरीले छापा मार्दा ७१७.६ किलोग्राम गाँजा बरामद गरिएको हो।
सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार गाँजा ६० वर्षीय मेदी यादवको घरबाट बरामद गरिएको हो। चेकजाँचका क्रममा घरभित्र २६ पोका र थप १ पोका गरी जम्मा २७ पोका गाँजा फेला परेको थियो।
बरामद गरिएका लागुऔषधहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा पठाइएको प्रहरीले जनाएको छ।
हाल घरमुली मेदी यादव फरार रहेको र उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। साथै, गाँजा कसरी ल्याइयो र कसरी बिक्रीवितरण हुने तयारी गरिएको थियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
सुरक्षा निकायले लागुऔषधको रोकथाम तथा तस्करी नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ तीव्र बनाइएको जनाएको छ।















