Logo

७ साउन, काठमाडौं । मधेस प्रदेशमा खडेरीका कारण किसानहरू धान रोप्न नसक्दा गम्भीर संकटमा परेका छन् । यस्तो विषम परिस्थितिमा सङ्घीय सरकारले खडेरीपीडित कृषकहरूका लागि विशेष राहत कार्यक्रम ल्याउने तयारी गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बुधबार बिहान एक रेडियो कार्यक्रममा बोल्दै आज बस्ने मन्त्रिपरिषद् बैठकमा मधेस प्रदेशका किसानलाई लक्षित विशेष निर्णय हुने जानकारी दिए ।

उनले आज बिहान ११ बजेपछि बस्ने मन्त्रीपरिषद्को बैठकले मधेस प्रदेशका खडेरी पीडित कृषकहरूका लागि केही न केही निर्णय हुने जानकारी दिए ।

उनले मधेस प्रदेशमा खडेरी परेकाले धेरै किसानहरूले धान रोप्न नपाएको र किसानहरू मर्कामा पर्नुका साथै अन्नको अभाव हुने भएकाले सङ्घीय सरकारले केही विशेष कार्यक्रम ल्याउनु पर्ने प्रस्ताव आफूले राखेको बताए ।

प्रदेश सरकारले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरिसकेको अवस्थामा सङ्घीय सरकारले पनि किसानको राहतका लागि ठोस कदम चाल्ने संकेत देखिएको छ ।

मन्त्री अधिकारीले कृषकका लागि अनुदानको मल वितरणमा पारदर्शी व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार, देशभरमा कहाँ कति मल पठाइएको छ भन्ने विवरण सार्वजनिक गरिएको छ, जसले किसानले अनुगमन गर्न सक्ने वातावरण बनाएको छ ।

“विगतमा मल वितरणमा लुकिछिपी र पक्षपातपूर्ण प्रवृत्ति थियो,” मन्त्री अधिकारीले भने, “अबदेखि प्राथमिकता प्राप्त किसानले मल पाउने सुनिश्चितता गरिनेछ ।” उनले मलका लागि सरकारले छुट्याएको ९८ प्रतिशत बजेट मलमै खर्च गरिएको स्पष्ट पारे ।

मन्त्री अधिकारीले विगतमा कृषि अनुदान दुरुपयोग गर्नेहरूलाई कारबाही प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी पनि दिए । अबदेखि कृषिको नाममा दिइने एक रुपैयाँ पनि दुरुपयोग नहुने गरी कडाइ गरिएको उनको भनाइ छ । “कृषिमा दुरुपयोगलाई पूर्ण रूपमा नियन्त्रण गर्ने व्यवस्था मिलाएका छौँ,” मन्त्री अधिकारीको दृढ भनाइ थियो ।


सम्बन्धित समाचार