Logo

७ साउन,धनुषा । धनुषाको सिमासँग जोडिएको भारतको मधुवनी जिल्ला अन्तर्गत मैनाथपुर सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चार राउण्ड गोली प्रहार गरेको छ। उक्त घटना भारत–नेपाल सीमा नजिकैको ग्रामपञ्चायत–६ मैनाथपुर क्षेत्रमा मंगलबार साँझ भएको हो।

घटनाको कारण भारतका एक व्यापारी लामोहन पासवान र भारतीय एसएसबीबीच रासायनिक मल नेपाल भित्र्याउने विषयमा भएको विवाद रहेको जनाइएको छ। विवाद चर्किएपछि अवस्थालाई नियन्त्रणमा लिन एसएसबीले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

गोली लागेर भारतीय व्यापारी भर्ता पासवान घाइते भएका छन्। रिपोर्टअनुसार, एसएसबीले चलाएको चार राउण्ड गोलीमध्ये दुई राउण्ड गोली उनको दाहिने कम्मरमा लागेको छ। उनी अहिले उपचाररत छन्।

घटनापछि नेपालतर्फको विदेह नगरपालिका–१ अन्तर्गत महिनाथपुर सीमा र भारतीय मैनाथपुर बोर्डर दुबैतर्फबाट पूर्णरूपमा बन्द गरिएको छ। सशस्त्र प्रहरी बल, मधेस प्रदेशका छिन्नमस्ता बाहिनीका प्रमुख नायब महानिरीक्षक कृष्ण ढकालका अनुसार सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

नेपाल र भारत दुवैतर्फबाट सर्वसाधारणको सीमा आवागमनमा रोक लगाइएको छ। सशस्त्र प्रहरीका अनुसार अवस्था नियन्त्रणमा लिन सुरक्षा सतर्कता अझै कडा बनाइएको छ।

घटनासँग सम्बन्धित थप अनुसन्धान र कूटनीतिक संवादको अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार