८ साउन, वीरगञ्ज । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवले हालको मधेश प्रदेश सरकार स्थिर रहेको र नयाँ सरकार गठनको कुनै प्रक्रिया नचलेको स्पष्ट पारेका छन् ।
हालै कांग्रेस र एमालेबीच वैकल्पिक सरकारको सम्भावनाबारे चलिरहेका चर्चा र अफवाहको खण्डन गर्दै मन्त्री यादवले यस्तो भ्रमले सरकारको गरिमा र स्थायित्वमा आघात पुर्याउने भन्दै आपत्ति जनाएका छन् ।
“मधेशमा अर्को सरकार गठनबारे न हाम्रो पार्टीभित्र, न त गठबन्धनमा नै कुनै छलफल भएको छ,” मन्त्री यादवले भने, “तर अफवाह फैलिँदा सरकारको गरिमा घटेको छ । अहिले यही सरकारले निरन्तरता पाउँछ, नयाँ सरकार गठनको कुनै प्रयास भएको छैन।”
पछिल्लो समय जनमत पार्टी नेतृत्वको सरकार परिवर्तनको सम्भावनाबारे विभिन्न तहमा चर्चा चलिरहेको बेला मन्त्री यादवको यो अभिव्यक्ति आएको हो। उनले अफवाहमा ध्यान नदिन सबैलाई आग्रह गर्दै प्रदेशको विकास र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।















