प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ साउन,काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब डेढ किलो कोकिनसहित एकजना भारतीय महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीया भारतीय नागरिक रुबिना अब्दुल्लाह शेख रहेकी छिन्।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले मंगलबार उनको गतिविधि शंकास्पद देखिएपछि पक्राउ गरेको थियो। एसएसपी कृष्ण कोइरालाका अनुसार, शेखले ह्यान्ड ब्यागको भित्री भागमा विशेष तरिकाले तयार पारिएको प्लास्टिकको ट्युबमा कोकिन लुकाएर ल्याएको पाइएको हो।

सोधपुछका क्रममा उनीबाट कोकिन लिन आएका अर्का एक भारतीय नागरिक अरुणप्रताप पनि पक्राउ परेका छन्। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। दुवैजनालाई लागूऔषध कारोबारसम्बन्धी अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ।

यसैबीच, प्रहरीले नागार्जुन नगरपालिका–३, इचंगुनारायणबाट पनि कोकिन कारोबारमा संलग्न रहेको आरोपमा थप दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३७ वर्षीय इरिट्रेरियन नागरिक युसुफ एटोम र ४४ वर्षीय रसियन नागरिक एन्ड्रिई मल्सेभ रहेका छन्। शंकास्पद अवस्थामा फेला परेपछि एटोमलाई पक्राउ गरिएको र उनी बसेको होटल कोठाबाट रसियन नागरिक मल्सेभ पनि पक्राउ परेको प्रहरीले जनाएको छ। थप अनुसन्धान जारी रहेको छ।

 


सम्बन्धित समाचार