५ भदौ,वीरगञ्ज । भारतमा बेचबिखन गर्न लैजाँदै गरेकी एक महिलालाई प्रहरीले वीरगञ्जको इनर्वा नाकाबाट पक्राउ गरेको छ। पक्राउ परेकी महिला गोर्खा नगरपालिका–४ की २८ वर्षीया सरिता सिर्मल रहेको पर्सा प्रहरी कार्यालयले जनाएको छ।
भदौ ३ गते, सिर्मलले मकवानपुर, संखुवासभा र सिन्धुपाल्चोकका तीन जना युवती र महिलालाई विभिन्न प्रलोभन देखाउँदै भारततर्फ लगिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सिर्मलले ती युवतीहरूलाई भारतमा बेचबिखन गर्ने नियतले लैजाँदै गरेको खुलेपछि उनलाई मानव बेचबिखन तथा ओसारपसार कसूरमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।
उनका अनुसार, साथमा रहेकी तीन जना पीडित युवती र महिलाहरूको उद्धार गरी अभिभावकको जिम्मा लगाएर घर पठाइएको छ।
पक्राउ परेकी सिर्मललाई भने प्रहरी हिरासतमा राखी मानव बेचबिखनविरुद्धको कानुनअनुसार मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
डीएसपी लम्सालका अनुसार, सीमा क्षेत्रमा मानव ओसारपसार रोक्न सुरक्षा व्यवस्था अझ कडा बनाइएको छ र यस्ता अपराधमा संलग्न व्यक्तिलाई कडा कानुनी कारबाही गरिनेछ।

















