Logo

प्रतिकात्मक चित्र

१७ भदौ, रसुवा । तीन दिनदेखि बेपत्ता रहेका रसुवाका दुई युवाको शव गोसाइँकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा फेला परेको छ ।

यही भदौ १५ गतेदेखि सम्पर्कविहीन भएका २४ वर्षीय सुदीप घले र २३ वर्षीय दावा डेन्डुप तामाङको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको आशंका गरिएको छ।

कसरी पत्ता लाग्यो घटना ?

परिवारले उनीहरूको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो। प्रहरीले श्रीनाथ गण धुन्चेमा रहेको सीसीटीभी फुटेज जाँच गर्दा भदौ १५ गते राति करिब १० बजे उनीहरू मोटरसाइकलमा धुन्चेबाट ठाडेतर्फ जाँदै गरेको देखिएको थियो।

सोही आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्मिलित संयुक्त टोलीले खोजी कार्य अघि बढाएको थियो। खोजीका क्रममा खोलामा मोटरसाइकल खसेको र दुईजनाको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

दुर्घटनाको प्रकृति

घटनास्थलको निरीक्षण गर्दा मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खसेको देखिएको छ। यसबाट उनीहरूको सवारी दुर्घटनामा नै मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । अहिले एउटा शव रोप रेस्क्यु विधिबाट निकाल्ने काम भइरहेको छ भने अर्को शव पनि सोही खोलामा देखिएको जानकारी स्थानीयबाट प्राप्त भएको छ। यस घटनाले गोसाइँकुण्ड क्षेत्रमा शोक छाएको छ।


सम्बन्धित समाचार