२३ भदौ,काठमाडौं । राजधानीमा जारी जेनजी आन्दोलनमा प्रहरीको बल प्रयोगका कारण घाइते भएकामध्ये मृतकको संख्या ८ पुगेको छ।
प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा गम्भीर घाइते भएका मध्ये पाँच जनाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको पुष्टि भएको छ। त्यसैगरी, सिभिल अस्पतालमा दुई जनाको ज्यान गएको छ भने एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार मृतकहरूको मुचुल्का उठाउन जनसेवा प्रहरी वृत्तबाट विशेष टोली घटनास्थल तथा अस्पतालहरूमा खटिएको छ। हाल मृतकहरूको पहिचान खुलाइएको छैन।
स्रोतका अनुसार अझै पनि दर्जनौं घाइतेको अवस्था गम्भीर छ र राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी र आन्दोलनकारीबीचको झडपपछि राजधानीको अवस्था अत्यन्त तनावग्रस्त बनेको छ। राजधानीका प्रमुख स्थानहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
यस घटनाले आन्दोलन झन् चर्किने संकेत देखिएको छ। विस्तृत विवरण आउन बाँकी छ।















