Logo

१ असोज, वीरगञ्ज । नेपाल सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाको सम्मान स्वरूप आज (बुधबार) देशभर राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झन्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको व्यहोरा जानकारीका लागि प्रकाशित गरिएको छ।”

यस क्रममा देशभरका सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक निकाय र विदेशस्थित दूतावास/नियोगहरू बन्द रहनेछन् । साथै, राष्ट्रिय झन्डा आधा झुकाइ पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्न भनिएको छ ।

सरकारको यो निर्णयले प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा शोकसंतप्त परिवारप्रति ऐक्यबद्धता प्रकट गर्ने उद्देश्य लिएको बताइएको छ।


सम्बन्धित समाचार