Logo

१ असोज, काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तोकिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बनेपछि स्थगित गरिएको थियो।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय, कक्षा ११ र १२ ले सोमबार संशोधित तालिका सार्वजनिक गर्दै परीक्षा यही असोज ७ र ८ गते हुने जनाएको हो।

परीक्षा तालिका अनुसार असोज ७ गते (पहिलो दिन) अनिवार्य अंग्रेजी (००४१) विषयको परीक्षा हुनेछ । एक विषयमा मात्र परीक्षा दिने विद्यार्थीका लागि पनि यसै दिन परीक्षा हुनेछ । दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरूमध्ये सानो कोड भएको विषय को परीक्षा हुनेछ । तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषय परीक्षा दिनेले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ । असोज ८ गते (दोस्रो दिन) दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि ठूलो कोड भएको विषय को परीक्षा हुनेछ। यस दिन अंग्रेजीको परीक्षा भने रहने छैन, किनभने अंग्रेजी पहिलो दिन नै तोकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई तोकिएको समयमै परीक्षा दिन उपस्थित हुन आग्रह गर्दै नयाँ तालिकाअनुसार परीक्षा सञ्चालनमा कुनै अवरोध नहुने स्पष्ट पारेको छ। यससँगै कक्षा १२ को मौका परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।


सम्बन्धित समाचार