Logo

५ असोज,रौतहट । रौतहटमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। शनिबार राति गस्तीको क्रममा प्रहरीले तरकारी लोड गरिएको पिकअप गाडीबाट लुकाइराखिएको ३३४ किलो गाँजा फेला पारेको हो।

प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरी टोलीले इशनाथ नगरपालिका–८ मोतिपुर सडक खण्डबाट भारततर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको गाडी जाँच गर्दा उक्त गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार गाडीमा तरकारी लोड गरिएको देखिए पनि प्रहरीले शंका गरी चेकजाँच गर्दा २६ वटा पोकामा लुकाइराखिएको ३३४ किलो गाँजा भेटिएको हो।

डीएसपी कार्कीका अनुसार गाँजाको १९ वटा पोकामा १५–१५ किलोका दरले २८५ किलो र बाँकी ७ वटा पोकामा ७–७ किलोका दरले ४९ किलो गाँजा रहेको थियो।

उक्त लागुऔषध गाँजालाई माथिबाट २० किलो काउली (फुलकोपी) राखेर लुकाइएको थियो। प्रहरीले गाडीसहित गाँजा नियन्त्रणमा लिएको छ भने चालक भने प्रहरीले देख्नासाथ फरार भएका छन्।

फरार रहेका गाडी चालक र गाँजा तस्करको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिएका छन्। प्रहरीका अनुसार भारत तर्फ तस्करीका लागि गाँजा लैजाँदै गरिएको अनुमान गरिएको छ। प्रहरीले गाँजा तस्करीमा संलग्न गिरोहको पहिचान गर्न अनुसन्धान अघि बढाएको छ।


सम्बन्धित समाचार
भर्खरै