५ असोज,काठमाडौं । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ। कपिलवस्तुस्थित पार्टीको केन्द्रीय कार्यालय शिवगढीमा भदौ २३ देखि २६ सम्म बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।
यद्यपि, बैठक चलिरहेकै बेला ‘जेनजी विद्रोह’का कारण देशको राजनीतिक परिस्थितिमा आएको परिवर्तनले गर्दा यो निर्णयलाई औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी रहेको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले बताए।
बुढाथोकीले भने, ’निर्वाचनमा भाग लिने हाम्रो घोषित नीति नै हो। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते गर्ने निर्वाचनमा पार्टीले भाग लिन्छ। समाजवादी व्यवस्था स्थापित गर्ने उद्देश्यले हामी निर्वाचनको उपयोग गर्नेछौँ।’ उनले २०८४ को निर्वाचनमा पनि पार्टीले भाग लिने निर्णय पहिले नै गरिसकेको बताए। तर पछिल्लो विशेष राजनीतिक परिस्थितिका कारण थप छलफल आवश्यक भएकाले अहिले नै आधिकारिक निर्णय सार्वजनिक नगरिएको उनको भनाइ छ।
पार्टीले समाजवादी व्यवस्था ल्याउनका लागि माओवादी घटकहरूसँग एकता र विचार मिल्ने कम्युनिस्ट पार्टीहरूसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण गर्ने नीति पनि लिएको बुढाथोकीले जानकारी दिए।
स्मरण रहोस्, भदौ २३ र २४ गते भएको ’जेनजी विद्रोह’का कारण केपी ओली नेतृत्वको तत्कालीन कांग्रेस–एमाले गठबन्धन सरकार ढलेको थियो। यसै परिस्थितिलाई मध्यनजर गर्दै विप्लव नेतृत्वको नेकपाले आफ्नो रणनीतिमा पुनर्विचार गरिरहेको देखिन्छ।















