भर्खरै सम्पन्न जेनजी आन्दोलनको क्रममा भएको गोलीकाण्डको विषयले अहिले नेपालको राजनीतिमा नयाँ बहसको सुरुवात गरेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा ब्यारेकबाट सार्वजनिक भएपछि प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको दाबी गरेपछि यो विषयले थप चर्चा पाएको हो । पूर्वप्रधानमन्त्रीको यो भनाइलाई नयाँ पुस्ताको सरकारलाई अप्ठेरोमा पार्ने र आन्दोलनको विश्वसनीयतामाथि प्रश्न उठाउने राजनीतिक दाउपेचका रूपमा हेरिएको छ। जेनजी आन्दोलनका अगुवाहरूले पनि यसलाई नयाँ सरकारलाई कमजोर बनाउने प्रयास भनेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागको रिपोर्टले भने फरक तथ्य देखाएको छ। आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको पोस्टमार्टम रिपोर्टमा उनीहरूको मृत्यु ‘हाई भेलोसिटी आर्म्स’बाट प्रहार भएको गोलीका कारण भएको उल्लेख छ। फरेन्सिक विज्ञहरूका अनुसार एसएलआर र इन्सास जस्ता राइफलबाट चलेको गोलीले यस्तो क्षति पुर्याउँछ। यद्यपि, विस्तृत ब्यालेस्टिक जाँच बिना यसको ठोस निष्कर्ष निकाल्न नसकिने उनीहरूको भनाइ छ।
नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तम सुवेदीले पनि ओलीको दाबीलाई हतारको निष्कर्ष भनेका छन् । उनले इन्सास र एसएलआर प्रहरीले नै प्रयोग गर्ने हतियार भएको र अधिकांश गोली संसद् भवनको सुरक्षामा खटिएको ‘स्पेशल टाक्स फोर्स’ले चलाएको हुनसक्ने बताएका छन् । यसले राजनीतिक नेतृत्वको भनाइ र प्राविधिक तथ्यबीच विरोधाभास देखिएको छ ।
घटनाको सत्यतथ्य बाहिर ल्याउन वैज्ञानिक ब्यालेस्टिक जाँच अनिवार्य छ। मृतकको शरीरमा भेटिएका गोलीहरू सुरक्षित राखिएकोले त्यसको जाँच गरी कुन हतियारबाट गोली चलेको हो भन्ने कुरा स्पष्ट गर्न सकिन्छ।
भिड नियन्त्रणका लागि घातक हतियार प्रयोग गर्नुपरेको अवस्थाको पनि गहिरो अध्ययन हुनु आवश्यक छ । प्रहरीले गैरघातक हतियारको अभाव भएको गुनासो गर्दै आएको अवस्थामा यसको समाधान खोज्नु पनि राज्यको जिम्मेवारी हो ।
यसरी, यो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु नै अहिलेको आवश्यकता हो । यसले भविष्यमा यस्ता घटना दोहोरिन नदिन मद्दत पुग्नेछ र नागरिकको विश्वास पनि कायम हुनेछ।















