५ असोज, काठमाडौं । नेपाली सेयर बजारमा आइतबार उत्साहजनक वृद्धि देखिएको छ।
अघिल्लो कारोबार दिनमा ६ प्रतिशतले घटेर ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको नेप्से परिसूचक आज १११ अंकले बढेर २६२३ अंकमा पुगेको छ। यो ४ दशमलव ४४ प्रतिशतको वृद्धि हो । आज दिनभरमा ९ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएकामध्ये २२४ कम्पनीको मूल्य बढ्यो भने २८ को घट्यो ।
क्षेत्रगत अवस्था
निर्जीवन बीमा समूहबाहेकका सबै समूहले वृद्धि हासिल गरेका छन् । सबैभन्दा धेरै बढ्नेमा व्यापार समूह ८ दशमलव ६६ प्रतिशत, लगानी समूह ७ दशमलव ६८ प्रतिशत र हाइड्रोपावर समूह ५ दशमलव ८३ प्रतिशतले अग्रपंक्तिमा रहेका छन् । जेनजी आन्दोलनका कारण व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिको दायित्व बढ्ने आकलनले निर्जीवन बीमा समूह भने ४ दशमलव ०२ प्रतिशतले घटेको छ।
धेरै बढ्ने र घट्ने कम्पनीहरू
डेढ दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यसमा शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, सिन्धु विकास बैंक, भूगोल इनर्जी र गुडविल फाइनान्स लगायतका कम्पनीहरू रहेका छन् । मूल्य धेरै घट्नेमा भने निर्जीवन बीमा कम्पनीहरू नै अगाडि रहेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य ७।६४ प्रतिशत, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५ दशमलव ६६ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ५ दशमलव ५९ प्रतिशतले घटेको छ ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहेका छन्।















