Logo

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक केहीबेरअघि देखि जारी छ।

स्वास्थ्यलाभपछि विश्राम गरिरहेका सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी भएका छैनन्। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले देउवा असोज २६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा भने सहभागी हुने जानकारी दिए।

यसअघि बैठक ललितपुरको एक होटलमा दिउँसो १ बजेका लागि तय गरिएको भए पनि अन्ततः पार्टी कार्यालयमै बसाइएको हो।

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै असोज २६ गते बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकका सम्भावित कार्यसूचीबारे छलफल भइरहेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको यो पहिलो औपचारिक बैठक हो।

त्यो आन्दोलनका क्रममा भदौ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निवासमा सशक्त हमला, कुटपिट र आगजनी भएको थियो।

त्यस्तै प्रदर्शनका क्रममा पार्टी केन्द्रीय कार्यालयसहित विभिन्न जिल्ला कार्यालयहरू र नेताहरूका घरहरूमा समेत आगजनी र तोडफोडका घटनाहरू भएका थिए।

पार्टी नेतृत्वले सो घटनापछि सुरक्षा, संगठन सुदृढीकरण र राजनीतिक रणनीतिलाई लिएर गम्भीर छलफल गरिरहेको संकेत बैठकले दिएको छ।


सम्बन्धित समाचार
भर्खरै