Logo

२६ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) र नेकपा माओवादी केन्द्रबीच एकीकरणको गृहकार्य चलिरहेका बेला पार्टीका सम्मानित नेता झलनाथ खनालले गम्भीर असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् ।

खनालले माओवादीसँगको तत्कालको एकता प्रयासलाई पूर्णतः अस्वीकार गर्दै पार्टी नेतृत्वलाई दक्षिणपन्थीको बाटोमा लागेको गम्भीर आरोप लगाएका छन् ।

‘एकताको मौसम होइन, भड्खालोमा नपरौँ’

पत्नीको उपचारका क्रममा नयाँदिल्लीमा रहेका नेता खनालले पार्टीको सचिवालय बैठकमा लिखित धारणा पठाउँदै हालको यो समय पार्टी एकीकरण गर्ने समय नभएको स्पष्ट पारेका छन् । उहाँले लेख्नुभएको छ, ‘कमरेडहरू यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन। हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाई पार्ने दिशामा नलागौँ ।’ उहाँले कसैसँग पनि पार्टी एकीकरण गर्नुपूर्व नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको मूल कारण बारे निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । खनालको भनाइ छ, ‘सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं। ठिक बेठिक के गर्‍यौं, दूध र पानी छुट्याऔँ।’

अध्यक्ष नेपालसहित वाम नेतृत्वमाथि दक्षिणपन्थीको आरोप

झलनाथ खनालले पार्टी नेतृत्व (अध्यक्ष माधवकुमार नेपालसहित) र अन्य वामपन्थी दलका नेतृत्वहरू समेत दक्षिणपन्थीको पछि लागेको आरोप लगाएका छन् । उहाँले नेतृत्वले मुलुकको सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभार छाडेर यथास्थितिवादको मार्ग समातेको दाबी गरेका छन् । खनाल भन्नुहुन्छ, ‘दक्षिणपन्थीहरूका पछि लागेर हाम्रो पार्टीको नेतृत्वसहित अन्य वामपन्थी नेतृत्वहरू समेतले।।। यथास्थितिवादको मार्गमा हिँडेपछि र विदेशीहरुसँग अपमानपूर्ण सन्धी र सझौता गर्न थालेपछि मुलुक भयावह संकटमा जानु र विदेशीहरूको क्रिडास्थल बन्नु अनुवार्य नै थियो।’

पुनर्गठन र रूपान्तरण अनिवार्य

खनालको अडान छ कि पार्टी एकता गर्नुभन्दा पहिले प्रत्येक वामपन्थी पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ। देश र जनतालाई नयाँ दिशा दिन र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन आन्तरिक शुद्धीकरण अपरिहार्य भएको उहाँको तर्क छ। उहाँले यो वर्षलाई पुनर्गठन र रूपान्तरणको वर्ष बनाउन आफूले पहिलेदेखि नै आह्वान गर्दै आएको र समयले ठिक त्यही ठाउँमा ल्याइपुर्‍याएको बताउनुभएको छ । खनालको यो धारणाले एकीकृत समाजवादीभित्र माओवादीसँगको एकता प्रयासमा ठूलो दरार उत्पन्न गरेको छ।


सम्बन्धित समाचार
भर्खरै