Logo

२६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले आकस्मिक केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

स्थायी समिति सदस्य अनिल शर्मा विरहीका अनुसार बैठक कपिलवस्तुको शिवगढीमा आज दिउँसो २ बजे सुरु हुनेछ । बैठकको मुख्य एजेन्डामा हालैको जेनजी विद्रोहपछिको राजनीतिक अवस्थाको समीक्षा, वामपन्थी दलबीचको सम्भावित एकता, ध्रुवीकरण, र आगामी विशेष महाधिवेशनको तयारी समेटिएको छ ।

विरहीले जानकारी दिएअनुसार, शनिबार बसेको स्थायी समिति बैठकले यी विषयहरूमा व्यापक छलफल गरी केन्द्रीय समिति बैठकको कार्यसूची तय गरेको हो । उनले भने, ‘विचार मिल्ने सबै वाम शक्तिहरूसँग एकताको सम्भावना खोज्ने हाम्रो प्राथमिकता हो। पछिल्लो राजनीतिक परिदृश्यको गहिरो विश्लेषण गर्दै बैठकले नयाँ रणनीति तय गर्नेछ।’

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ केही दिनअघि काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूसँग भेटघाट गरी सम्भावित वाम एकताबारे छलफल गरिसकेका छन् ।

यसअघि भदौ २३–२६ मा बसेको नियमित केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन आगामी फागुनमा गर्ने निर्णय गरेको थियो। तर, त्यसयता जेनजी विद्रोहका कारण उत्पन्न अस्थिरताले पार्टीलाई आकस्मिक बैठक गर्न बाध्य पारेको बताइएको छ।


सम्बन्धित समाचार
भर्खरै