Logo

२६ असोज,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अध्यक्ष पदका लागि तीव्र प्रतिस्पर्धा सुरु भएको छ। यही असोज २७ र २८ गते जनकपुरधामस्थित निधि सांस्कृतिक केन्द्रमा हुने प्रदेश अधिवेशनलाई लक्षित गर्दै पार्टीभित्र अध्यक्ष पदका आकांक्षीबीच चर्को ध्रुवीकरण देखिएको छ।

वर्तमान अध्यक्ष बालकिशोर यादवले पुनः उम्मेदवारी दिने संकेत गरेकै समयमा पूर्वराज्यमन्त्री तथा समाजवादी युवा संघका पूर्वअध्यक्ष योगेन्द्र राय यादवले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेपछि प्रतिस्पर्धा थप चर्किएको हो।

पार्टीका केन्द्रिय सदस्यसमेत रहेका यादवले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै भने, “मधेश प्रदेशमा जसपाको पुनः सरकार बनाउन र संगठनलाई मजबुत बनाउन आफू उपयुक्त उम्मेदवार हुँ।” उनले हालसम्म मधेशका आठवटै जिल्लामा पुगेर नेता तथा कार्यकर्तासँग छलफल गरिसकेको र व्यापक समर्थन पाइरहेको दाबी गरेका छन्।

प्रदेश अध्यक्ष बालकिशोर यादव पार्टीको नेतृत्वमा रहँदा मधेश प्रदेशमा प्रमुख प्रतिपक्षीको भूमिकामा सीमित भएको भन्दै योगेन्द्र राय यादवले आलोचना गरेका छन्। उनले पार्टीभित्र नयाँ उत्साह, रणनीति र संगठनात्मक सशक्तताका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको तर्क गरे।

यसबिच पार्टीभित्र पनि प्रदेश अध्यक्षको नेतृत्वमा को रहने भन्ने विषयमा आन्तरिक खिचातानी चुलिएको छ। अध्यक्ष पदका लागि अहिलेसम्म दुई उम्मेदवार अघि आएका छन् भने अरू केही आकांक्षीहरू पनि मौन तयारीमा रहेको बताइन्छ।

यसपटकको अधिवेशनलाई ‘एकताको प्रथम प्रदेश अधिवेशन’ भनिएको छ, जहाँ ६५ सदस्यीय प्रदेश समिति र ९ पदाधिकारी चयन गरिनेछ। अधिवेशनका लागि करिब साढे पाँच सय प्रतिनिधि सहभागी हुने बताइएको छ। प्रतिनिधि छनोटमा ८५ हजार हाराहारी क्रियाशील सदस्यहरूमध्येबाट करिब ४५० जना प्रतिनिधिहरू छानिएका छन्।

पूर्वअध्यक्ष रामबाबु यादवको नेतृत्वमा रहेको प्रदेश समिति भंग गरेपछि दुई वर्षअघि सरकारी सेवा मै रहँदै सातौँ तहका अधिकृत बालकिशोर यादवलाई प्रदेश अध्यक्षमा मनोनित गरिएको थियो। उनी हाल स्वास्थ्य कार्यालय पर्सामा कार्यरत छन्।

पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा हुने अधिवेशन भव्य समारोहका साथ हुने बताइएको छ। जसपाको बलियो आधार क्षेत्र मानिने मधेश प्रदेशमा हुने यो अधिवेशनले पार्टीको आगामी रणनीति र नेतृत्व निर्धारण गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै