Logo

२६, असोज, काठमाडौं । नेकपा ओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दुईवटा महत्वपूर्ण सर्तहरू अगाडि सारेका छन् ।

जेन–जी विद्रोहपछि तीव्र भएको वामपन्थी ध्रुवीकरणको छलफलमा विप्लवका यी सर्तहरूले नयाँ मोड ल्याएका छन् । असोजको दोस्रो साता ललितपुरको हात्तीवनमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा विप्लवले यी सर्तहरू राखेको बुझिएको छ ।

विप्लवका दुई सर्त र प्रचण्डको प्रतिक्रिया

नेतृत्व तहका सबै अग्रज नेताहरूलाई बिदा गरी नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्ने विप्लवको पहिलो सर्त रहेको छ । संक्रमणकालीन अवस्थामा एकतामा जोडिएका मूल नेतृत्व (प्रचण्ड, माधव नेपाल) लाई संयोजक तोकेर एकता महाधिवेशनमा आफूलाई नेतृत्व दिने गरी सहमति गर्नुपर्ने उनको प्रस्ताव छ ।

यद्यपि, प्राप्त जानकारी अनुसार विप्लवको दोस्रो सर्तमा प्रचण्ड सहमत भइसकेका छैनन्। तर, नयाँ कम्युनिस्ट केन्द्र बनाएर जाने विषयमा भने प्रचण्ड सकारात्मक देखिएका समाजवादी मोर्चाका नेताहरूले बताएका छन् ।

तीव्र भइरहेको वाम एकताको प्रयास

माओवादी, एकीकृत समाजवादी, नेकपा र नेपाल समाजवादी पार्टी (महिन्द्र राय यादव नेतृत्व) बिचको एकतालाई तीव्रता दिइएको छ । समाजवादी मोर्चाका नेताहरूबीच एकताको विभिन्न मोडेलमा छलफल भइरहेको छ । एकीकृत पार्टीको नाम नेकपा (समाजवादी केन्द्र) राख्ने, मार्गदर्शक सिद्धान्त मार्क्सवाद(लेनिनवाद र रणनीतिक कार्यदिशा नेपाली विशेषताको वैज्ञानिक समाजवादमा नेताहरूबीच मोटामोटी सहमति जुटेको छ । माओवादीले असोज ९ र १० गतेको केन्द्रीय समिति बैठकबाटै नेकपासहित समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता गर्ने निर्णय गरिसकेको छ।

एकीकृत समाजवादीभित्र मतभेद

एकीकृत समाजवादीभित्र भने एकताको विषयमा मतभेद देखिएको छ। सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल एकताको विपक्षमा उभिएका छन्। खनालले त भारतबाटै ‘कुबेलाको सहनाई नबजाउन’ भन्दै लिखित आग्रह समेत पठाउनुभएको छ । नेकपाको स्थायी समिति सदस्य अनिल शर्मा विरहीका अनुसार, जेन–जी विद्रोहपछिको विशेष परिस्थितिमा नयाँ विचार, संगठन र कम्युनिस्ट केन्द्र बनाउने विषय नेकपाको केन्द्रीय समिति बैठकको एजेन्डा हो र सोमबारसम्ममा ठोस निष्कर्ष निस्कने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार