२६ असोज, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा आइतबार पक्राउ परेका छन्। सीआईबी (केन्द्रीय अनुसन्धान ब्यूरो) को टोलीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
महरामाथि १० पुस २०७९ मा फ्लाई दुबईको एफजेट०५८७ फ्लाइटमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङद्वारा ल्याइएको भेप (Vape) भित्र लुकाएर ल्याइएको सुन छुटाउन भन्सारमा दबाब दिएको आरोप लागेको छ।
उक्त फ्लाइटमार्फत ल्याइएको २ वटा सुटकेसमा ७३० थान भेप राखिएको थियो, जसको भित्र ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाइएको पाइएको थियो। भन्सारका नासु रेवन्त खड्का समेतको मिलेमतोमा उक्त सुन बेचिएको अनुसन्धानबाट खुलेको छ।
यसै प्रकरणमा महराका छोरा राहुल महरा यसअघि नै पक्राउ परेर कारागार चलान भइसकेका छन्। हालै सीआईबीले महरालाई सोधपुछका लागि बोलाएको थियो र उनीसँग विस्तृत बयान पनि लिएको थियो।
अनुसन्धानका क्रममा चिनियाँ नागरिक लि हानसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलबीच निरन्तर संवाद भएको कल रेकर्डले देखाएको स्रोतको दाबी छ।
यसअघि पनि अनुसन्धानको दायरामा आएका महरामाथि सत्ता र शक्तिको प्रयोग गर्दै अनुसन्धान प्रभावित गरेको आरोप लाग्दै आएको थियो। तर पछिल्लो घटनाक्रमपछि सीआईबीले अनुसन्धानलाई तीव्रता दिँदै औपचारिक रुपमा उनलाई पक्राउ गरेको हो।
सुन तस्करी प्रकरणमा राजनीतिक पहुँच र संगठित गिरोहको संलग्नता भएको आशंकामा सीआईबीले थप अनुसन्धान जारी राखेको छ।

















