१८ कात्र्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले आज दिउँसो विशेष पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।
ललितपुरको बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो २ः३० बजे आयोजना गरिएको यो पत्रकार सम्मेलनलाई शर्माले आफ्नो आगामी राजनीतिक बाटोबारे घोषणा गर्ने मञ्चका रूपमा लिएका छन् । उनले वाम एकता प्रक्रियामा एकीकृत समाजवादीसहितका नौ दलसँगको गठबन्धनप्रति असहमति जनाउँदै आएका छन् ।
पार्टीभित्रको वाम एकताको निर्णय अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्दै गर्दा निवर्तमान उपमहासचिव शर्माले भने उक्त महत्त्वपूर्ण बैठक बहिष्कार गरी छुट्टै कार्यक्रम राख्न लागेका हुन्। यसले उनी पार्टीको मूलधारबाट अलगिने पक्षमा रहेको स्पष्ट संकेत गरेको छ ।
गत शनिबार बसेको सचिवालय बैठकमा उनले एकीकृत समाजवादीसँगको एकता वैचारिक स्पष्टता बिना गरिने ऐतिहासिक गल्ती हुने भन्दै लिखित असहमति पेस गरेका थिए । त्यसपछि उनले एकताको भारी नबोक्ने घोषणा गर्दै बैठक बीचमै छाडेर हिँडेका थिए । शर्माको यो शैलीलाई माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले अराजक व्यवहारको संज्ञा दिएका थिए । पछिल्लो समय उनले प्रचण्डसँग भेटेर एकतामा सहभागी नहुने र वाम प्रगतिशील ध्रुवीकरणु अभियान सुरु गर्ने जानकारी दिएको स्रोतले बताएको छ । बुधबार वाम दलबीच एकताको घोषणा गर्ने तयारी भइरहेका बेला शर्माले भने पार्टी पुनर्गठनको अडानसहित नयाँ ध्रुवीकरणको प्रयास गरिरहेका छन् ।
















