१९ कात्र्तिक, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा आज १० वटा कम्युनिस्ट पार्टीहरूको एकता घोषणा सभामा ढिलोगरी सहभागी भएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन बल पुर्याउने उद्देश्यले आफू आएको स्पष्ट पारेका छन् ।
सभालाई सम्बोधन गर्दै उनले एकतामा सहभागी सबै घटकहरूलाई अब ‘हामी कहिल्यै फुट्ने छैनौं’ भन्ने दृढ संकल्प लिएर अघि बढ्नका लागि आग्रह गरेका छन् । उनले विगतमा पनि एकता भएको स्मरण गर्दै ‘ए बेग्लै भयो, कता कता भयो’ भन्दै कम्युनिस्ट पार्टीहरू फुट्नुमा नेतृत्व पंक्तिमा भएको कमजोरी मुख्य कारण रहेको स्वीकारेका छन् । खनालले नेतृत्वलाई विगतका गल्तीहरूको गम्भीर समीक्षा गर्न र फेरि त्यस्तो अवस्था नआओस् भनेर आत्मसमीक्षा गर्न सचेत गराएका छन् ।
उनले पार्टी फुटाउने ‘केही केही चिजहरू’ कम्युनिस्ट पार्टीभित्र पसेको औँल्याउँदै त्यसप्रति ध्यान दिन आग्रह गरेका छन् । आफ्नो विमति हुँदाहुँदै पनि प्रचण्डबाट समाधानको आश्वासन पाएको विश्वासमा आफू यो एकतालाई बलियो बनाउन आएको उनले बताए । यसै क्रममा खनालले बाहिर रहेका कम्युनिस्ट पार्टीहरूलाई पनि नयाँ ढंगले सोच्न आग्रह गर्दै, एकअर्काप्रति आरोप–प्रत्यारोप नगर्न पनि आह्वान गरे ।
साथै, उनले भदौ २३ गते भएको जेनजी आन्दोलन जायज भए पनि नयाँबानेश्वर पुगेपछि त्यो आन्दोलनलाई ‘चन्ड मुसन्डले हाइज्याक गरेको’ आरोप पनि लगाएका थिए ।
















