Logo

२१ कात्र्तिक, काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकको प्रकाशित विवरण अनुसार यस अवधिमा बैंकले २ अर्ब ६२ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको देखिन्छ। यससँगै बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ७८ पैसा कायम भएको छ । यद्यपि, बैंकको खुद नाफा भने गत वर्षको तुलनामा उल्लेख्य मात्रामा घटेको छ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३३ करोड २३ लाख रुपैयाँमा खुद नाफा सीमित गर्न पुगेको छ। यसरी खुद नाफामा ३८ दशमलव ०४ प्रतिशतको ठूलो गिरावट आएको छ ।

बैंकको खुद नाफा घट्नुको प्रमुख कारण इम्पेरमेन्ट चार्ज मा भएको भारी वृद्धि हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी सामान्य १ दशमलव ५९ प्रतिशतले बढे पनि इम्पेरमेन्ट चार्ज १ अर्ब १६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यसकै कारण सञ्चालन मुनाफा ४२ दशमलव ११ प्रतिशतले घट्न पुगेको छ । यसका बाबजुद, बैंकको कुल सञ्चालन आम्दानी १४ दशमलव ८० प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २६ दशमलव ५९ प्रतिशतले बढेको छ।

खुद नाफामा आएको गिरावटसँगै बैंकको प्रतिशेयर आम्दानी पनि प्रभावित भएको छ। अघिल्लो वर्षको तुलनामा ३ रुपैयाँ ७९ पैसा घटेर ईपीएस ५ रुपैयाँ ४६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्मको तथ्याङ्क हेर्दा बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९ दशमलव ७४ गुणा कायम भएको छ। यस अवधिसम्ममा बैंकले ३ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।


सम्बन्धित समाचार