Logo

People with warning notification and spam message icon on mobile phone, Spam link on smartphone, Virus on smartphone, Alert warning scam, Hacker

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा विभिन्न बैंकको नाममा आकर्षक प्रलोभन दिएर बैंक खाता ह्याक गरी रकम ठगी गर्ने एक गिरोहका तीन जनालाई पक्राउ गरेको छ ।

ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४० वर्षीय राजन गिरी, ओखलढुंगाकी २६ वर्षीया मिना लकन्द्री र भारत, बिहारका २६ वर्षीय आदित्य कुमार रहेका छन् । उनीहरुलाई प्रहरीले काठमाडौँको ठमेलस्थित छायाँ सेन्टर कम्प्लेक्सबाट नियन्त्रणमा लिएको हो ।

ब्युरोका अनुसार उक्त गिरोहले सामाजिक सञ्जाल फेसबुकमा ‘सर्भे लिंकमा क्लिक गरी बोनस प्राप्त गर्नुहोस’ जस्ता आकर्षक विज्ञापन पोस्ट गर्ने गरेका थिए । प्रयोगकर्ताले उक्त शंकास्पद सर्भे लिंक क्लिक गर्नासाथ उनीहरूको बैंक खाताबाट रकम अनलाइनमार्फत अन्य खातामा ट्रान्सफर भई ठगी हुने गरेको थियो । ठगिएका पीडितहरूको उजुरी र त्यसपछि गरिएको प्राविधिक अनुसन्धानका आधारमा उक्त समूहको पहिचान भएको हो ।

पक्राउ परेका स्क्यामरहरूको साथबाट प्रहरीले नेपाली तथा विदेशी नगद, विभिन्न बैंकका एटीएम कार्डहरू, भारतीय नम्बरका सिम कार्ड, मोबाइल फोन र क्यासिनो कार्डसमेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई विद्युतीय माध्यमसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी कारबाही अगाडि बढाइएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिपक राज अवस्थीले जानकारी दिएका छन् ।

प्रहरीले सर्वसाधारणलाई सामाजिक सञ्जालमा देखिने यस्ता अपरिचित र शंकास्पद लिंकमा कुनै पनि हालतमा क्लिक नगर्न र सतर्क रहन आग्रह गरेको छ।


सम्बन्धित समाचार