२१ कात्र्तिक, काठमाडौं । यस वर्ष बाहिरिने समयमा परेको बेमौसमी वर्षा र त्यसपछिको बाढीपहिरोले नेपालको कृषि क्षेत्रमा व्यापक क्षति पुर्याएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, गत असोज तेस्रो साता भएको भारी वर्षा र बाढीपहिरोबाट मात्रै कृषि क्षेत्रमा ३ अर्ब ५५ करोड ८७ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ। यसले बालीनाली, पशुपन्छी र कृषि पूर्वाधारमा ठूलो नोक्सानी पुगेको देखिएको छ । उक्त क्षति विवरण अनुसार, मधेश प्रदेश सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ एक्लै २ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
मधेश प्रदेशका सबै जिल्लाहरूमा धान, तरकारी, फलफूल र उखु बाली गरी ९ हजार १८६ हेक्टर क्षेत्रफल डुबान तथा कटानमा परेका छन् । त्यसैगरी, कोशी प्रदेशमा ३४ करोड २४ लाख २५ हजार रुपैयाँ र बागमती प्रदेशमा १२ करोड ४६ लाख ३ हजार रुपैयाँको क्षति भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले संकलन गरेको असोजको तथ्याङ्क वर्गीकरण गर्दा बालीनालीमा मात्रै ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ। यसबाहेक, पशुपन्छीमा करिब १४ करोड ९० लाख रुपैयाँ र बीउबिजनमा २७ करोड ९४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। मन्त्रालयकी सहसचिव एवं प्रवक्ता जानुका पण्डितका अनुसार, असोज तेस्रो साताको क्षतिको गहन विश्लेषण भइरहेको छ र दुई–तीन दिनभित्र यसको विस्तृत प्रतिवेदन सार्वजनिक गरिने तयारी छ ।
तर, पाकेको धानबाली उठाउने बेला कात्तिक दोस्रो साता भएको वर्षाले पुर्याएको थप क्षति को पूर्ण विवरण भने हालसम्म संकलन भइसकेको छैन। यस क्षतिको तथ्याङ्क संकलनका लागि मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गरिसकेको र विवरण आउने प्रतीक्षामा रहेको प्रवक्ता पण्डितले जानकारी दिइन् ।
क्षतिपूर्ति माग गरिरहेका किसानहरूका लागि राहत र पुनर्स्थापनाको बजेट सिधै कृषि मन्त्रालयअन्तर्गत नपर्ने र विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणजस्ता निकायहरूले हेर्ने उहाँको भनाइ छ।















