Logo

२१ कात्र्तिक, काठमाडौं । काभ्रेपलाञ्चोकस्थित सुरक्षण मुद्रण केन्द्रमा आजदेखि सवारीचालक लाइसेन्स छपाइ कार्य औपचारिक रूपमा सुरु भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बटम थिचेर छपाइको शुभारम्भ गरेका हुन् । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार, पहिलो चरणमा यातायात व्यवस्था विभागबाट प्राप्त भएको १२ लाख सवारीचालक अनुमतिपत्र छापिनेछ र सुरुवाती चरणमा दैनिक ५०० प्रति लाइसेन्स छापिने लक्ष्य राखिएको छ ।

कानूनी उल्झन, बेथिति र विविध कठिनाइका बाबजुद अत्यावश्यक प्रबन्ध मिलाएर छपाइ सुरु गरिएको सञ्चारमन्त्री खरेलले बताए । वर्षौंदेखि केन्द्रमा थन्किएर धुलाम्मे अवस्थामा रहेका मेसिन र पार्टपुर्जाहरूको धुलो पन्छाएर यो काम थालिएको उनको भनाइ छ । मन्त्री खरेलले २८ लाखभन्दा बढी लाइसेन्स छाप्नुपर्ने अवस्था रहेकाले यो सुरुवातले जनतालाई सुशासनको प्रत्याभूति दिने विश्वास व्यक्त गरे । यसरी सरकारी प्रेसबाटै लाइसेन्स छपाइ सुरु हुँदा विदेशी कम्पनीलाई ठेक्का दिँदा बाहिरिने ठूलो रकम रोकिने र राष्ट्रिय सुरक्षाको हिसाबले समेत यो महत्त्वपूर्ण कदम रहेको उनले बताए ।

यो छपाइ सुरु भएसँगै केन्द्रले ढिलोमा ६ महिनाभित्र १२ लाख लाइसेन्स उपलब्ध गराउने लक्ष्य लिएको छ। मुद्रण केन्द्रमा लाइसेन्स छाप्दा यातायात व्यवस्था विभागले पहिलेको भन्दा १०० रुपैयाँ सस्तो पर्नेछ । यद्यपि, ५० करोड मूल्य बराबरको अन्य एक महत्वपूर्ण छपाइ मेसिन भने भवन अभावका कारण दुई वर्षदेखि कन्टेनरभित्र अलपत्र अवस्थामा राखिएको छ ।

कार्यकारी निर्देशक ढुंगानाका अनुसार, अबको ६ महिनाभित्र भवन निर्माण सम्पन्न भएपछि उक्त मेसिन सञ्चालनमा ल्याइनेछ, जसबाट कागजमा आधारित पासपोर्ट, नागरिकता र लालपुर्जा जस्ता अन्य महत्त्वपूर्ण कागजातहरूको पनि छपाइ गर्न सकिनेछ ।


सम्बन्धित समाचार
भर्खरै