Logo

२२ कात्तिक,काठमाडौं । उपत्यका ट्राफिक प्रहरी महाशाखाले सवारी साधनको स्वरूप परिवर्तन, अत्यधिक धुवाँ फाल्ने र चर्को आवाज निकाल्ने सवारीमाथि कडाइ गरेको छ। यो अभियान सुरु भएको १८ दिनभित्र ६६७ वटा मोटरसाइकल र ३७ वटा चारपांग्रे सवारीसाधन नियन्त्रणमा लिइएका छन्।

ट्राफिक प्रहरीले गत असोज ३० गतेदेखि “मोडिफाइ सवारीसाधन नियन्त्रण अभियान” सञ्चालन गरेको हो। यस अवधिमा साइलेन्सर परिवर्तन गरी चर्को आवाज निकाल्ने, सिट उठाएर अग्लो बनाउने, रंगीन ‘भुत लाइट’ जडान गर्ने, वा सवारीको स्वरूप परिवर्तन गर्ने चालकहरूलाई कारबाही गरिएको हो।

ट्राफिक महाशाखा परिसरमा अहिले नियन्त्रणमा लिइएका सवारीसाधनहरूको भीड छ। केही चालकले ग्यारेजका मिस्त्री ल्याएर बिगारिएको स्वरूप पुरानै अवस्थामा फर्काइरहेका छन्। कोही लाइट र स्पिकर हटाउँदै छन् भने कोही सिट र ह्यान्डल मर्मत गराइरहेका छन्।

महाशाखाका प्रमुख नवराज अधिकारीका अनुसार युवा पुस्तामा नियम उल्लंघन गर्ने प्रवृत्ति बढेकाले कडाइ आवश्यक भएको हो।
“सडकमा सामान्य मानिस हिँड्न पनि गाह्रो हुने अवस्था छ,” उनले भने, “चर्को आवाजमा हर्न बजाउने, रंगीन लाइट राख्ने र धुवाँ फाल्ने सवारीले शहर प्रदूषित र जोखिमपूर्ण बनेको छ।”

त्यस्तै, ट्राफिक प्रहरीले अत्यधिक धुवाँ फाल्ने र जाँचपास नभएका सवारीसाधनलाई पनि नियन्त्रणमा लिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, “नियन्त्रणमा लिएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कारबाही गरिन्छ। यसमा ८ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।”

सवारीधनीले जरिवाना तिरेर, मोडिफाइ पार्टहरू हटाएर र मर्मत पूरा गरेपछि मात्रै सवारी फिर्ता पाउनेछन्।

वायु प्रदूषण नियन्त्रण र सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मोबाइल इमिसन टेस्ट युनिट थप गर्ने तयारी गरेको छ।

प्रमुख अधिकारीका शब्दमा, “सवारी चलाउनु आवश्यकतासँगै जिम्मेवारी पनि हो। नियम पालन नगर्ने चालकहरूका कारण हुने दुर्घटनाबाट हरेक वर्ष हजारौं मानिसको ज्यान जाने भएकाले अब नियम उल्लंघन सह्य हुँदैन।”


सम्बन्धित समाचार