२३ कात्र्तिक, काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न बैंकमा रहेको कुल ४ अर्ब ६६ करोड रुपैयाँ लगानी गर्ने प्रक्रिया सुरु गरेको छ ।
कोषले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका बैंकहरूलाई लक्षित गरी यो रकम कात्तिक २४ गतेभित्र लिन सक्ने सूचना प्रकाशित गरेको छ, तर यसका लागि बैंकहरूले पार गर्नुपर्ने कडा मापदण्डहरू तोकिएका छन् । रकम लिन इच्छुक बैंकहरू कम्तीमा पाँच वर्षदेखि सञ्चालनमा आएको र पछिल्लो पाँच आर्थिक वर्षमा लगातार नाफामा रहेको हुनुपर्ने अनिवार्य शर्त राखिएको छ ।
यसका साथै, बैंकहरूले न्यूनतम पूँजीकोष कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जाको आठ प्रतिशतभन्दा कम भएको र कर्जा-निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्रै रहेको सुनिश्चित गर्नुपर्नेछ । कोषले विगत ६ महिनाभित्र राष्ट्र बैंकबाट सामान्य सचेत गराउनेबाहेक अन्य कुनै जरिवाना वा सजाय नपाएको तथा समस्याग्रस्त घोषणा भएर फुकुवा भएको हकमा कम्तीमा तीन महिनाको अवधि पूरा भएको अवस्थामा मात्र लगानीका लागि योग्य हुने जनाएको छ ।
सरकारी स्वामित्वका बैंकबाहेक अन्य बैंकहरू अनिवार्य रूपमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हुनुपर्ने शर्त राखिएको छ। तोकिएको मापदण्ड पूरा गरेको स्वघोषणासहित बैंकहरूले शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ र लगानी गर्ने वा नगर्ने अन्तिम अधिकार कोषमा सुरक्षित रहनेछ।















