२५ कात्र्तिक, काठमाडौं । अब नाम, जन्ममिति लगायतका व्यक्तिगत घटनाका विवरण एक पटकलाई सच्याउन मिल्ने भएको छ ।
सोमबारको मन्त्रिपरिषद बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेपछि अब नागरिकहरूले आफ्नो व्यक्तिगत घटना दर्ताका विवरणहरू एकपटकलाई सच्याउन पाउने भएका हुन् । यसअघि ऐनमा व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने व्यवस्था भए पनि त्यसको कार्यान्वयनमा प्रष्टता नभएका कारण यो नियमावली संशोधन गरिएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारीले संशोधित नियमावलीमा एकपटक संशोधन गर्न पाउने ऐनको व्यवस्थालाई कसरी कार्यान्वयन गर्ने भनेर स्पष्ट व्याख्या गरिएको जानकारी दिएका छन् । यो सँगै अब जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, सम्बन्ध विच्छेद लगायतका व्यक्तिगत घटना दर्ता भएका विवरणहरूमा त्रुटि भएका नागरिकहरूले एकपटकका लागि संशोधन गर्न पाउनेछन् । विशेष गरी नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक(फरक विवरण भएका व्यक्तिहरूका लागि यो निर्णय निकै राहत मिल्ने भएको छ ।
मन्त्रिपरिषद्ले नियमावली संशोधन गरिसकेको हुनाले अब राजपत्रमा प्रकाशित भएपछि यो व्यवस्था कार्यान्वयनमा आउने अधिकारीले बताएका छन् । व्यक्तिगत घटनाका विवरणहरू दर्ता गर्ने वा सच्याउने काम सम्बन्धित वडा कार्यालयबाट हुनेछ ।
















