२५ कात्र्तिक, काठमाडौं । साताको तेस्रो कारोबार दिन मङ्गलबार सेयर बजारमा सामान्य सुधार आएको । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव २१ अंकले बढेर २५६५ दशमलव १६ विन्दुमा पुगेको छ।
आज कूल ७९ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा जम्मा ३ अर्ब ६२ करोड रुपैयाँको मात्रै कारोबार भएको छ, जुन पछिल्ला दिनहरूको तुलनामा कम हो । आज कारोबार रकम भने घटेको छ । कारोबार रकमका आधारमा साहस ऊर्जा लिमिटेडको ३५ करोड, राधी विद्युत् कम्पनीको ३२ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २६ करोड रुपैयाँको सेयर किनबेच भयो। आजको कारोबारमा १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ, र १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
बढ्ने कम्पनीहरूमध्ये शाइन रेसुंगा डिबेन्चर र बन्दीपुर केबलकार एन्ड टुरिजमको सेयरमा सकारात्मक सर्किट लागेको छ। माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको सेयर मूल्य पनि करिब ९ दशमलव ९८ प्रतिशतदेखि ९ दशमलव ९९ प्रतिशतसम्मले बढेको छ ।
यता घट्ने कम्पनीहरूमा नेपाल एसबीआई बैंक डिबेन्चर ९ दशमलव ३९ प्रतिशतले घट्दा सिटी होटल्स लगायतका कम्पनीको सेयर मूल्य ४ दशमलव ९६ प्रतिशतसम्मले ओर्लिएको छ। मङ्गलबार वाणिज्य बैंक, जलविद्युत्, जीवन बीमा, उत्पादन, सामूहिक लगानी र निर्जीवन बीमा लगायतका समूहहरू हरियो रहेका छन्।
















