२५ कात्र्तिक, काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिमा विवाद बढेपछि पदमुक्त गरिएकी सुमित्रा सुवेदी भण्डारीको स्थानमा राष्ट्रपति रामचन्द्र पौडेलले सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखको रूपमा शपथ ग्रहण गराएका छन् ।
मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नवनियुक्त प्रदेश प्रमुख कर्णले यस्तो समयमा पदभार ग्रहण गरेका छन्, जब मधेस प्रदेशको राजनीतिक वातावरण निकै तनावपूर्ण छ। यसअघिकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीको सल्लाहमा भन्दै सोमबार बिहान सबेरै बर्दिबास र सिन्धुलीको सिमानामा पर्ने ‘पानस होटल’ मा नवनियुक्त मुख्यमन्त्रीलाई सुटुक्क शपथ गराएको घटनालाई लिएर सरकारले उनलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।
सोही विवादित कार्यका कारण भण्डारीले पद गुमाएकी थिइन् । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध विपक्षी दलहरूले सर्वोच्च अदालतमा रिट समेत दायर गरिसकेको अवस्थामा नयाँ प्रदेश प्रमुख कर्णको भूमिका थप चुनौतीपूर्ण र महत्त्वपूर्ण हुने देखिन्छ ।
















