२६ कात्र्तिक, काठमाडौं । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–४, लक्ष्मीपुर स्थित मदन भण्डारी राजमार्गमा बुधवार दिउँसो एउटा मालबाहक ट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
यो हृदयविदारक दुर्घटनाले यस क्षेत्रमा ठूलो शोक र तनाव सिर्जना गरेको छ । इलाका प्रहरी कार्यालय डकाहाका प्रमुख प्रहरी निरीक्षक सपना खड्काले दिएको जानकारी अनुसार, भिमानबाट दुधौलीतर्फ गइरहेको नाप्र १–०२–००२ ख ४११ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेका नाप्र२–०१–००१ प २१४२ र म प्र०२–००६ प ५८४१ नम्बरका दुईवटा मोटरसाइकलहरूलाई एकसाथ ठक्कर दिएको थियो।
दुर्घटनामा दुधौली नगरपालिका(११, टाडीका ३४ वर्षीय रामकुमार कुमर र सोही क्षेत्रका २५ वर्षीय फुलबाबु धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूलाई दुधौली नगर अस्पताल सिर्थौलीले मृत घोषणा गरेको हो ।
यस भयंकर दुर्घटनामा घाइते हुनेहरूमा दुधौली–३ का २६ वर्षीय विप्लव धामी, २७ वर्षीय बुद्धि थारू, २५ वर्षीय सुनिल माझी, र ३२ वर्षीय कुशे धामी रहेका छन् । अस्पताल स्रोतका अनुसार विप्लव, बुद्धि र कुशेको अवस्था गम्भीर रहेकोले उनीहरूको उपचारलाई उच्च प्राथमिकता दिइएको छ।
धनकुटा जिल्ला छथर जोरपाटी गाउँपालिका-६ का २५ वर्षीय शेरबहादुर विष्टले चलाएको ट्रकको ठक्करपछि दुर्घटनास्थल नजिकै आगलागी समेत भएको प्रहरीले जनाएको छ। आगलागीका कारण मप्र०२–००६ प ५८४१ नम्बरको मोटरसाइकल पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ।
दुर्घटनापछि तत्कालै प्रहरीले ट्रक र त्यसका चालक शेरबहादुर विष्टलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दुर्घटनाको वास्तविक कारण र विस्तृत विवरण पत्ता लगाउन गहन अनुसन्धान भइरहेको जनाएको छ।















