२८ कात्र्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयको जग्गामा निर्मित संरचनाहरूमाथि डोजर चलाएको छ ।
पूर्व ऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काले भाडामा लिएर प्रयोग गर्दै आएका ती संरचनाहरूलाई महानगर प्रहरीले आज बिहानै डोजरसहित पुगेर भत्काएको हो । लामो समयदेखि भाडा तिर्न अटेरी गरेपछि स्काउटले कात्तिक २० गते सूचना जारी गर्दै भाडा चुक्ता गर्न सात दिनको अल्टिमेटम दिएको थियो, जुन म्याद आज सकिएको छ ।
नेपाल स्काउटले सूचनामार्फत भाडा चुक्ता नगरिए आफ्नो जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गर्ने र त्यसबाट पनि भाडा असुलउपर नभए खड्काको जायजेथाबाट बाँकी रकम लिने कडा चेतावनी दिएको थियो । स्काउटको सार्वजनिक जग्गामाथि भएको यो अतिक्रमण र भाडा विवादमा महानगरपालिकाले हस्तक्षेप गर्दै संरचना भत्काइदिएपछि लामो समयदेखिको विवादले एउटा निचोड पाएको छ ।
सार्वजनिक जग्गामाथि भएको अवैध र भाडा नतिरेको संरचना हटाउने महानगरको यो कदमलाई भाडामा बस्ने तर नियम पालना नगर्ने प्रवृत्तिमाथिको प्रहारका रूपमा हेरिएको छ ।















