Logo

२७ कात्र्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रदीप पौडेलले मतदाता नामावली दर्ता गर्ने अवधि थप गर्न निर्वाचन आयोग र सरकारसँग जोडदार माग गरेका छन् ।

बिहीबार एक भिडियो वक्तव्य जारी गर्दै नेता पौडेलले अहिले धेरै स्थानमा नाम दर्ताका लागि लामो लाइन बस्नुपरेको र काम छिटो छरितो नभएको गुनासो आएको बताए । उनले नाम दर्ताको समय कार्तिक मसान्तसम्म मात्र रहेकाले यही अवस्था कायम रहे जेनजी समूहसहित अन्य धेरै व्यक्ति निर्वाचनमा सहभागी हुनबाट वञ्चित हुने सम्भावना औँल्याउँदै समय थप गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नेता पौडेलले निर्वाचन आयोग र सरकारले प्रचार गरेअनुसार सहजीकरण नभएको गुनासो गर्दै नामावली दर्ताका लागि थप समय उपलब्ध गराउन जरुरी रहेको बताए । उनले नाम दर्ता गर्ने कार्यालयहरूमा काम छिटो र व्यवस्थित बनाउन, साथै थप जनशक्ति र उपकरणको व्यवस्था गरेरै भए पनि छोटो समयमा धेरै काम हुने प्रभावकारी व्यवस्था मिलाउन आग्रह गरे । यसका लागि पनि हाल तोकिएको कार्तिक मसान्तसम्मको अवधि बढाउनु अपरिहार्य रहेको उनको तर्क छ । यसका अतिरिक्त, नेता पौडेलले बढीभन्दा बढी नागरिकको सहभागिता सुनिश्चित गर्नका लागि मतदाता नामावलीमा सहभागी हुने उमेर समूह १६ वर्ष कायम गर्नुपर्ने माग पनि गरेका छन् ।

साथै, उनले उम्मेदवार बन्नका लागि हाल तोकिएको २५ वर्षको व्यवस्थालाई पनि घटाउन आवश्यक रहेको तर्क प्रस्तुत गरे । उनले सबै उमेर समूहका नागरिकलाई मतदाता नामावली दर्ता गरेर निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै