२८ कात्तिक, वीरगञ्ज । पर्साको जिराभवनी गाउँपालिका–५ सखुनियाका ३८ वर्षीय विजय महतो नुनियालाई उपकार सेवा नेपालले ह्विलचेयर सहयोग गरेको छ । चार वर्षअघि गाई–बस्तुका लागि रुखमा चढेर घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका महतो हाल पूर्ण रूपमा शारीरिक अपाङ्गता भई ओछ्यानमै बस्न बाध्य छन् ।
रुखबाट लडेपछि उनको स्पाइनकोर्डमा गम्भीर चोट लागेपछि हिँडडुल गर्न नसक्ने अवस्थासम्म पुगेका महतोको परिवार आर्थिक रूपमा कमजोर छन् । उनका एक छोरा र एक छोरी छन् । घरको जीविकोपार्जन श्रीमतीले अरूको घरमा चुल्हा–चौकाको कामबाट गर्दै आएकी छन् ।
यस अवस्थाबारे जानकारी पाएपछि उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले महतोलाई उपचार तथा दैनिक जीवनयापन सहज बनाउनका लागि आफ्नो वीरगञ्जस्थित निवासमा बोलाई ह्विलचेयर हस्तान्तरण गरेकी हुन् ।
ह्विलचेयर हस्तान्तरण कार्यक्रममा समाजसेवी प्रकाश थारु सहित स्थानीय भद्रभलादमीहरूको उपस्थिति थियो ।
उपकार सेवा नेपालले यसअघि पनि विभिन्न दुर्गम तथा सीमान्तकृत बस्तीमा पुगेर असहाय, अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न व्यक्तिहरूलाई आवश्यकताको आधारमा सहयोग गर्दै आएको सरावगीले बताइन् । संस्थाले आगामी दिनमा पनि आवश्यकता अनुसारका सामाजिक सहयोग कार्यक्रम निरन्तर चलाइने जनाएको छ ।
















