Logo

२९ कार्तिक, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम तथा बजेट कार्ययोजना कार्यान्वयनको समग्र प्रगतिसम्बन्धी समीक्षा गरेको छ । यस उद्देश्यका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार उच्चस्तरीय समीक्षा बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले विभिन्न मन्त्रालय र निकायहरूको कार्यप्रगति, चुनौती र आगामी आवश्यकताबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणपछि मन्त्रीहरू, सचिवहरू तथा सम्बन्धित उच्च अधिकारीहरूले आफ्नो क्षेत्रका प्रगतिबारे टिप्पणी राख्दै आगामी योजना, प्राथमिकता तथा सुधारका सुझाव प्रस्तुत गरेका थिए ।

बैठकमा सहभागी प्रधानमन्त्री सुशीला कार्कीले अहिलेसम्मको कार्यप्रगति अपेक्षितरूपमा नबढेको उल्लेख गर्दै समग्र कामको गति तीव्र बनाउने निर्देश दिए। विशेषगरी पुँजीगत खर्च अत्यन्तै न्यून रहेको भन्दै उनले यसको गति बढाउन सम्बन्धित सबै संरचनालाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरे।

प्रधानमन्त्री कार्कीले पछिल्लो राजनीतिक परिवर्तनले देशमा नयाँ बाटो खोलेको उल्लेख गर्दै शासन प्रणाली, कार्यशैली र प्रशासनिक दृष्टिकोण पनि नयाँ पुस्ताको भावना तथा समयको आवश्यकताअनुसार रूपान्तरित हुनुपर्नेमा जोड दिए।

सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउँदै उहाँले प्रशासनिक नेतृत्वले स्वच्छता, पारदर्शिता र कार्यकुशलताको वातावरण निर्माण गर्न निर्णायक भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए।

प्रधानमन्त्रीले आफू स्वच्छ रहनुका साथै आफ्ना मातहतका निकायहरूमा पनि स्वच्छ प्रशासनिक वातावरण कायम गर्न सबै सरोकारवालालाई जिम्मेवार र परिणाममुखी ढंगले लाग्न निर्देशन दिनुभएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

सरकारले आगामी महिनाहरूमा नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनलाई तीव्र बनाउँदै प्रभावकारी परिणाम देखिनेगरी योजनाबद्धरूपमा अघि बढ्ने बताएको छ ।


सम्बन्धित समाचार